काठमाडौँ, असोज। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार पुराना आंशिक परीक्षामा सहभागी नौ हजार ९३४ विद्यार्थीमध्ये पाँच हजार ९१६ जना उत्तीर्ण भएका छन् । त्यस्तै, ग्रेड वृद्धि परीक्षामा चार हजार ९७६ जनामध्ये तीन हजार ५४० जनाले सफलता हासिल गरेका छन् ।
दुवै परीक्षामा गरी कुल १३ हजार ९१० विद्यार्थी सहभागी भएका थिए, जसमा नौ हजार ४५६ जनाले उत्तीर्णता प्राप्त गरेका छन् । दुई जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ ।
विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट तथा नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन् । साथै, नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस पठाएर वा १६०० र ८१६०१३ नम्बर डायल गरी प्राप्त निर्देशनअनुसार पनि नतिजा हेर्न सकिनेछ ।


