EduPress
'

पहिलोपटक एआईमा स्नातक कार्यक्रम पोखरा विश्वविद्यालयमा सुरु

Author Image
आइतवार, कार्तिक ३, २०८२
Text Size:

काठमाडौँ । पोखरा विश्वविद्यालयले पहिलोपटक आफ्नै आङ्गिक क्याम्पसमार्फत कृत्रिम बौद्धिकता (Artificial Intelligence- AI) र तथ्याङ्क विज्ञान (Data Science) विषयमा स्नातक तहको नयाँ कार्यक्रम (BIDS) सञ्चालन गरेको छ।

ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक सत्रदेखि उक्त कार्यक्रमका लागि भर्ना खुला गरेको जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत गराइएको हो। सो क्याम्पस हाल पोखरा विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा आएको छ।

विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन सह–प्रा. बुद्धिराज जोशीले बजारको आवश्यकता र प्रविधिको तीव्र विकासलाई ध्यानमा राखी एआई र तथ्याङ्क विज्ञानमा अध्यापन सुरु गरिएको बताए। उनका अनुसार यो कार्यक्रमले नेपालको उच्च शिक्षामा प्रविधि–केन्द्रित नयाँ अध्याय सुरु गर्नेछ।

त्यस्तै, विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रका कार्यकारी निर्देशक सह–प्रा. डा. दीपाञ्जल श्रेष्ठले एआई क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग रहेको उल्लेख गर्दै पोखरा विश्वविद्यालयले आङ्गिक क्याम्पसबाट कार्यक्रम सुरु गरेर समयानुकूल कदम चालेको बताए।

विगतमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको श्रमिक शान्ति कलेजको शैक्षिक व्यवस्थापन अब पोखरा विश्वविद्यालयले गर्ने भएको छ। सो कलेजले यसै सत्रदेखि कम्प्युटर विज्ञान तथा सूचना प्रविधिमा स्नातक (BCSIT) र कानुनमा स्नातक (BA LLB) कार्यक्रम पनि सुरु गरेको छ।

यी नयाँ कार्यक्रमका लागि शुल्क ४ लाख ३० हजारदेखि ४ लाख ९२ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ भने २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डीन डा. सुरेन्द्र तिवारीले जानकारी दिए।

विश्वविद्यालयका उप–प्रशासक सानु घलेका अनुसार हाल पोखरा विश्वविद्यालयसँग पाँच आङ्गिक, तीन संयुक्त आङ्गिक र ५८ सम्बन्धन प्राप्त क्याम्पसमा गरी करिब ४० हजार विद्यार्थी अध्ययनरत छन्।

Views: 17

प्रतिक्रिया