काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले अध्ययन बिदाको दुरुपयोग गरी लामो समयदेखि सेवामा नफर्केका शिक्षक र कर्मचारीहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ ।
विश्वविद्यालयको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा लिएर त्रिविको सेवामा फर्किनुपर्ने अनिवार्य सर्त उल्लङ्घन गर्ने शिक्षक र कर्मचारीहरूलाई ३५ दिनभित्र समितिको कार्यालयमा सम्पर्कमा आउन निर्देशन दिएको हो ।
त्रिविले जारी गरेको सूचनामा भनिएको छ, “त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुबाट त्रिभुवन विश्वविद्यालयमा अध्ययन विदा लिए पश्चात त्रिविमा फर्कि सेवा नगर्ने शिक्षक तथा कर्मचारीहरुबाट अध्ययन विदाको शर्त उल्लंघन गरेको देखिन्छ ।”
त्रिविले अध्ययन बिदा प्रणालीलाई सुव्यवस्थित र जिम्मेवार बनाउने उद्देश्यले हालै अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समिति गठन गरेको थियो । समितिको भनाइअनुसार, पछिल्ला वर्षहरूमा अध्ययन बिदाको नाममा धेरै शिक्षक र कर्मचारीले विश्वविद्यालयको नियमविपरीत विदेश वा अन्यत्र गएर फर्किन ढिलाइ गर्ने, वा कहिल्यै सेवामा नफर्कने प्रवृत्ति बढेको छ, जसले संस्थाको शैक्षिक र प्रशासनिक कार्य सञ्चालनमा असर पारेको छ ।
त्रिविले यसलाई विश्वविद्यालयको आचारसंहिताविपरीत कार्य मानेको छ र समयसीमा भित्र सम्पर्कमा नआउने शिक्षक–कर्मचारीमाथि त्रिविको नियमानुसार आवश्यक प्रशासनिक र कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
अध्ययन बिदाको शर्तअनुसार सम्बन्धित व्यक्तिहरूले आफ्नो अध्ययन पूरा गरेपछि पुनः त्रिविको सेवामा फर्की तोकिएको अवधिसम्म काम गर्नुपर्ने कानुनी प्रावधान छ । यसरी शर्त उल्लङ्घन गर्ने कार्यले विश्वविद्यालयको विश्वसनीयता र मानव स्रोत व्यवस्थापनमा प्रत्यक्ष असर पार्ने भएकाले कडाइका साथ कार्यान्वयन गरिने पनि समितिले जनाएको छ ।
त्रिविको सूचनामा भनिएको छ, “त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुबाट त्रिभुवन विश्वविद्यालयमा अध्ययन विदा लिए पश्चात त्रिविमा फर्कि सेवा नगर्ने शिक्षक तथा कर्मचारीहरुबाट अध्ययन विदाको शर्त उल्लंघन गरेको देखिन्छ । अध्ययन विदा उपभोग गरी हाजिरी नभएका शर्त अनुसार पूरा समय काम नगरेका, सेवाबाट हटाइएका, राजिनामा स्वीकृत गरी बुझबुझारथ नगरेका, राजिनामा पेश गरी स्वीकृत नभएका शिक्षक कर्मचारीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतीस) दिनभित्र समितिको कार्यालय वा studyleave@tu.edu.np मार्फत सम्पर्क गर्नुहुन अनुरोध छ । अन्यथा त्रिवि नियमानुसार कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।”
त्रिविको यो कदमले अध्ययन बिदाको दुरुपयोग रोक्ने अपेक्षा गरिएको छ ।


