सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीले आफूमाथि कुटपिट गर्ने व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङविरुद्ध किटानी जाहेरी दिएकी छिन् ।
सिन्धुपाल्चोक प्रहरीले प्रअ भण्डारीले जाहेरी दिएको तर दर्ता भइनसकेको जानकारी दिएको छ । साथै इलाका प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टर मधु खड्काले उक्त जाहेरी बुधबार मुचुल्का उठाएर दर्ता हुने जानकारी दिए ।
मंगलबार इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङले प्रअको कार्यकक्षमै कुटपिट गरेका थिए । व्यवस्थापन समितिको बैठक बसिरहेको समयमा अध्यक्ष तामाङले गाली गर्दै एकाएक प्रअ भण्डारीलाई कुटपिट गरेपछि उनको आँखामा गाला र आँखामा गम्भीर चोट लागेको छ ।
प्रहरी इन्स्पेक्टर खड्काका अनुसार, प्रअ भण्डारीले लेखेको पत्रमा मिति लेखेको नमिलेको भन्दै अध्यक्ष तामाङले कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको पुनर्गठनको विषयमा छलफल गर्न मंगलबार विव्यसको बैठक भएको थियो । उक्त बैठकमा छलफल भइरहेकै बेला अध्यक्ष तामाङले प्रधानाध्यापक भण्डारीमाथि एक्कासी हातपात गरेका थिए ।
उक्त कुटपिटका प्रत्यक्षदर्शी एवं बैठकमा सहभागी वडा सदस्य नरेश तामाङले भने, “म र भण्डारी म्याडम निर्णय लेख्दै निहुरेर बसिरहेका थियौँ। अचानक अध्यक्षले मुड्की प्रहार गर्नुभयो । प्रअ म्याडमलाई निर्णय लेख्न अप्ठ्यारो भएको देखिएपछि म उहाँलाई सिकाइरहेको थिएँ । त्यहीबेला विव्यस अध्यक्ष एकाएक रिसाउनुभयो । उहाँ किन रिसाउनुभयो बुझ्न सकिएन ।”
प्रअमाथि हातपात भएपछि विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघले दोषीमाथि कारवाही गर्न माग गरेको छ । नेपाल शिक्षक महासंघ इन्द्रावती गाँउपालिका समितिले विज्ञप्ति जारी गर्दै कुटपिटको भर्त्सना समेत गरेको छ ।



