सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र कर्णाली प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयबीच प्रयोगशाला सामग्री तथा उपकरण खरिद गर्न सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सामग्री विश्वविद्यालयको ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङका लागि प्रयोग गरिने बताइएको छ ।
सम्झौतामा मन्त्रालयका तर्फबाट कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र सचिव धोलकराज ढकाल र विश्वविद्यालयतर्फबाट उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, रजिस्ट्रार प्रा. डा. शोभाखर कँडेल र डिन सह प्रा. डा. राजन सुवालले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८२र८३ का लागि ४ करोड विनियोजन गरी ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङमा आवश्यक उपकरण तथा सामग्री खरिदको प्रक्रिया अघि बढाउने भएको छ। सम्झौताको उद्देश्य इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको व्यवहारिक सिकाइ, अनुसन्धान र परीक्षण क्षमताको अभिवृद्धि गर्ने र शिक्षणमा गुणस्तर बढाउने रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा उपकुलपति प्रा. डा. गौतमले विश्वविद्यालयले पारदर्शी, कानुनी र परिणाममुखी ढंगले सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै कर्णाली प्रदेश सरकारप्रति आभार व्यक्त गरे। उनले यो सहकार्यले विश्वविद्यालयलाई प्राविधिक रूपमा सबल, अनुसन्धानमैत्री र प्रदेशको विकासका लागि महत्वपूर्ण साझेदारको रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।
मन्त्री भण्डारीले मध्यपश्चिम विश्वविद्यालयले सिभिल इन्जिनियरिङ, पूर्वाधार विकास तथा आपत्कालीन अवस्थाहरूमा देखाएको दक्षता प्रशंसनीय रहेको बताए। उनले जाजरकोट भूकम्प मूल्याङ्कनजस्ता काममा विश्वविद्यालयले देखाएको प्राविधिक क्षमता उदाहरणीय रहेको उल्लेख गर्दै यो ल्याब स्थापनाले विश्वविद्यालयको प्राविधिक क्षमता र अनुसन्धानलाई नयाँ उचाइमा पुर्याउने बताए ।
डिन सह प्रा. डा. राजन सुवालले यो सहयोगले इन्जिनियरिङ शिक्षामा प्रयोगात्मक अध्ययन, अनुसन्धान र परीक्षण प्रणालीलाई मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले मन्त्रालयको यो पहलले कर्णाली प्रदेशमै आधुनिक प्रविधिसम्पन्न ल्याब स्थापना गर्ने आधार तयार भएको पनि बताए ।
मन्त्रालयका सचिव ढकालले यो सम्झौता प्रदेश सरकार र विश्वविद्यालयबीचको सहकार्यको ऐतिहासिक कदम भएको बताउँदै विनियोजित रकम पारदर्शी ढंगले प्रयोग हुने आश्वासन दिए। उनले मन्त्रालयले आवश्यक समन्वय र सहजीकरणका लागि सदैव सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका कार्यकारी निर्देशक, विभागीय प्रमुख, उपकुलपति र रजिस्ट्रार सचिवालयका सदस्यहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। मन्त्रालयतर्फबाट शैक्षिक विकास महाशाखा प्रमुख, मन्त्री सचिवालयका सदस्य र अन्य अधिकारीहरूको सहभागिता रहेको थियो।
यो सम्झौतासँगै निकट भविष्यमा मध्यपश्चिम विश्वविद्यालयमा अत्याधुनिक उपकरणयुक्त ल्याब स्थापना भई शिक्षण, सिकाइ र अनुसन्धानमा गुणात्मक सुधार हुने र प्रदेशको भौतिक विकासमा विश्वविद्यालयको योगदान अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।



