सुर्खेत । नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहक्का नेतृत्वको टोलीले शुक्रबार सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय (मपवि)को स्थलगत भ्रमण गरी विश्वविद्यालय प्रशासनसँग गहन छलफल गरेको छ । भ्रमणका क्रममा राजदूत पेट्रीले विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, पदाधिकारी तथा सरोकारवालाहरूसँग नेपाल–फिनल्याण्ड शैक्षिक सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान गरेका थिए ।
राजदूत पेट्रीले नेपाल भ्रमणको क्रममा विश्वविद्यालयको पहिलो स्थलगत निरीक्षण मध्यपश्चिम विश्वविद्यालयमै भएको उल्लेख गर्दै यस अवसरले दुबै देशबीच शैक्षिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनले फिनल्याण्डको उच्च शिक्षण पद्धति र अनुसन्धानको अनुभव नेपालका विश्वविद्यालयहरूसँग साझेदारी गर्न उत्साहित रहेको बताए ।
त्यस्तै उपकुलपति प्रा. डा. गौतमले नेपाल र फिनल्याण्डबीचको सम्बन्ध सन् १९७४ देखि मैत्रीपूर्ण र विकास–सहयोगमा आधारित रहँदै आएको स्मरण गरे । उनले फिनल्याण्डका राजदूतको भ्रमणले कर्णालीमा शिक्षा र अनुसन्धानको नयाँ ढोका खोल्ने विश्वास समेत व्यक्त गरे ।
दुई देशबीचको राष्ट्रियगान बजाएर सुरु गरिएको कार्यक्रममा रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले स्वागत मन्तव्य दिएका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले गरेका थिए ।
कार्यक्रममा विभिन्न संकायका डीन, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन सह–प्रमुख, विभागीय प्रमुख, स्ववियु पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो । अन्त्यमा उपकुलपति गौतमले राजदूत पेट्री, फिनल्याण्ड दूतावासका सहकार्य विभाग प्रमुख सारा अलानेन र टोलीलाई कृतज्ञता व्यक्त गर्दै मायाको चिनो प्रदान गरेका थिए ।
राजदूत पेट्रीको यो भ्रमणलाई विश्वविद्यालयले कर्णालीमा गुणस्तरीय उच्च शिक्षा र अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनालाई अझ सुदृढ बनाउने ऐतिहासिक अवसरका रूपमा लिएको छ ।
विश्वविद्यालय, योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं फिनल्याण्ड सरकारको सहयोगमा संचालित नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको विद्यालय शिक्षाका लागि प्राविधिक सहयोग (TECSES)स्टेरिंग कमिटिका सदस्य डा. विष्णुकुमार खड्काले विश्वमा फिनल्याण्डको शिक्षा मोडेल सफल र अनुकरणीय रहेकोले परियोजनाको महत्वपूर्ण पक्षको रुपमा रहेको बताए । उनले विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षाको शिक्षक शिक्षाको कार्यक्रम बीच एकात्मकता र सन्तुलन ल्याउने उद्देश्य अनुरुप मध्यपश्चिम विश्वविद्यालय र शिक्षाका लागि प्राविधिक सहयोग (TECSES) बीच सम्झौता भइ पाठ्यक्रम निर्माण, सेवा पुर्व सेवाकालिन तालिम, अध्ययन अनुसन्धान तथा प्रकाशन लगायतका क्षेत्रमा मध्यपश्चिम विश्वविद्यालय र फिनल्याण्ड सरकारको सहयोगमा संचालित विद्यालय शिक्षाका लागि प्राविधिक सहयोग (TECSES) सहकार्य सुरु भइसकेको बताए ।


