सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षक चार महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रिएका छन् । विद्यालय सञ्चालन गर्न नसकेका उनीहरू अहिले गाउँपालिकाको ढोकामै धर्ना बसिरहेका छन् ।
कात्तिक १८ गतेदेखि सुरु गरिएको धर्नामा १६ विद्यालयका करिब ३०० शिक्षक र कर्मचारी सहभागी छन् । संघर्ष समितिका संयोजक तथा रामजानकी आधारभूत विद्यालयका प्रधानाध्यापक दुखन यादवका अनुसार बिहान विद्यालय जाने समयमा शिक्षकहरू धर्नास्थल पुग्छन् र कार्यालय समय सकिएपछि फर्किन्छन् ।
“साउनयता तलब पाएका छैनौं । भोको पेटमा पढाउन सम्भव छैन,” यादवले भने । उनका अनुसार अत्यावश्यक सेवा जस्तै खोप अभियान भने रोकेको छैन, बाँकी सबै सेवा ठप्प छ ।
शिक्षकहरूले दशैंअघि नै आन्दोलन सुरु गरेका थिए । गाउँपालिकाले पटक–पटक सहमति गरे पनि तलब नदिएपछि उनीहरूलाई विद्यालय बन्द गरेर धर्ना बस्न बाध्य भएको गुनासो छ ।
गाउँपालिकामा लामो समयदेखि जनप्रतिनिधिबीचको विवादका कारण सभा बस्न सकेको छैन । यही कारणले बजेट पास र खाता सञ्चालन रोकिएको गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी बताउँछन् । “अधिकृत तोकिएको छ, अब छिट्टै तलब दिने तयारी भइरहेको छ,” उनले भने ।
अध्यक्ष चौधरी पछिल्ला विवादमा समेत तानिएका छन् । कार्यालयमा कार्यवाहक वडाध्यक्षलाई ‘मालिस गराएको’ विवादपछि उनले राजीनामा दिएको भनिए पनि आफूले राजीनामा नदिएको उनको दाबी छ ।
शिक्षकको तलब नपाएको गुनासो शिक्षा मन्त्रालयसम्म पुगेको छ । मन्त्री महावीर पुनले दशैंअघि नै सम्बन्धित पालिकालाई तत्काल तलब दिन निर्देशन दिएका थिए । तर निर्देशन पालना नभएपछि अहिले पनि सयौं शिक्षक तलबविहीन छन् ।
मन्त्रालयका अनुसार शिक्षकको तलबका लागि रकम पालिकालाई एकमुष्ट पठाइन्छ । तर कतिपय पालिकाले समयमै वितरण नगरेको कारण शिक्षकहरू समस्यामा परेका छन् ।


