भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले २०८२ साल असोज ७ र ८ गते सञ्चालित कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।
गत असोज ७ र ८ गते सम्पन्न परीक्षामा एक लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ७६ हजार तीन सय ६७ जना विद्यार्थी ग्रेडड भएका छन् । यसपटक चार जना विद्यार्थीको परीक्षाफल रद्द भएको छ । परीक्षाफल रद्द भएका परीक्षार्थीहरूकाे सिम्बाेल नम्बर 97101070, 97101128, 97102716, 97104099 रहेकाे बाेर्डले जनाएकाे छ । बैशाखमा भएकाे नियमित परीक्षामा पनि १७ जना परीक्षार्थीकाे परीक्षाफल रद्द गरिएकाे थियाे ।
कक्षा १२ को पुरक परीक्षाको नतिजा आइसक्दा समेत गत बैशाखमा भएको नियमित परीक्षामा भएको प्रश्नपत्र आउट प्रकरणको समस्या अझै समाधान भएको छैन । बैशाख २५ मा भएकाे परीक्षामा देशभर व्यापक अनियमितता भएको खबर आएका थिए । त्यसमध्ये काठमाडौं कमनापा वडा नम्बर ४ मा रहेको साइपाल एकेडेमी केन्द्रबाट बैसाख २५ गतेको होटल म्यानेजमेन्ट विषयको प्रश्नपत्र आउट भएको थियो । प्रश्नपत्र आउट गर्ने कार्यमा साइपालका केन्द्राध्यक्ष एवम् प्रधानाध्यापक, सहायक केन्द्राध्यक्ष, दुईजना कर्मचारी र दुई जना विद्यार्थीको समेत सम्लग्नता खुलेको थियो ।
प्रश्नपत्र आउट गरेको खुलेपछि त्यतिबेला साईपाल एकेडेमीका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष गणेश जोशी र सहायक केन्द्राध्यक्ष संज्ञा खतिवडा, २ कर्मचारी र २ विद्यार्थीलाई प्रहरीले पक्राउ गरी हिरासतमा समेत राखेको थियो । साथै त्यो बेला उनीहरुलाई जिम्मेवारीबाट हटाएर अन्यलाई केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षको जिम्मेवारी दिइएको थियो । उनीहरूमाथि महाराजगञ्ज प्रहरीले अदालतबाट म्याद थपेर शिक्षा ऐन २०२८ को दफा १७ को क र च अनुसार कारवाही गर्न सिफारिस पनि गरेको थियो । तर, पछि चलखेल गरेर जिल्ला प्रशासनमा लगि अभद्र व्यवहारमा मुद्दा बढाएर सफाइ दिने प्रपञ्च पनि गरिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार त्यतिबेला साइपाल एकेडेमीबाट प्रश्नपत्र आउट गरी अर्को केन्द्रमा परीक्षा दिइरहेका आफ्ना विद्यार्थीलाई पास गराउने उद्देश्य वमोजिम यस्तो गलत कार्य भएको खुलेको थियो ।
उक्त दिनको पश्नपत्र परीक्षा दिनुभन्दा आधा घण्टा अगाीड नै आउट भएको पुष्टि भए पनि राष्ट्रिय परीक्षा बोर्डले सानो भोल्युममा आउट भएकाले जति जनाको मोबाइल डिभाइसमा प्रश्नपत्र सर्कुलेट भयो त्यतिको परीक्षा रद्द गरेको जनाइएको छ । ६ जना संलग्नमा दुई जना विद्यार्थीलाई हाजिरी जमानीमा छोडिएको महाराजगञ्ज प्रहरीले जनाएको थियो ।
त्यसैगरी एम्बिसन एकेडेमीमा पनि परीक्षाको मर्यादा भंग गरिएको भन्दै उक्त दिनको परीक्षा रद्द गरिएको थियो ।
पछि राष्ट्रिय परीक्षा बोर्डले सोही परीक्षाको नतिजा प्रकाशन गर्दा यसरी अनियमितता गर्ने मध्ये १७ जनाको परीक्षाफल रद्द गरेको जानकारी गराएको थियो ।
त्यस्तै गत वर्ष २०८१ को कक्षा १२ को परीक्षामा पनि प्रोलिफिक माविले पाँचजना विद्यार्थीको नाममा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिलाउन खोजेको खुलेको थियो । उक्त अभियोगमा संलग्न भएको प्रमाणित भएपछि काठमाडौं जिल्ला अदालतले प्रोलिफिकका प्रधानाध्यापक गोपालबहादुर महतलाई ६ महिना कैद र पाँचहजार जरिवानाको फैसला समेत गरेको थियो । अहिले साइपाल र प्रोलिफिक मर्ज भएका छन् ।
यसअघि साउन १९ गते सार्वजनिक गरिएको नियमित परीक्षाको नतिजामा ६१ दशमलब १७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । नियमित परीक्षामा तीन लाख ९६ हजार तीन सय ४७ जना र आंशिक परीक्षामा एक लाख १४ हजार छ सय ४० जना विद्यार्थी सहभागी भएका थिए ।
त्यसमध्ये नियमिततर्फ ११ जना र आंशिकतर्फ ६ जना गरी १७ जनाको परीक्षाफल रद्द गरिएको थियो । नियमिततर्फ दुई लाख ४२ हजार चार सय ६५ र आंशिकतर्फ ४१ हजार आठ सय ४० गरी कुल दुई लाख ८४ हजार तीन सय पाँच विद्यार्थी सबै विषयमा ग्रेडेड भएका थिए ।


