भक्तपुर । विद्यार्थीहरूमा व्यवहारिक सिकाइ र सिर्जनशीलता प्रवद्र्धन गर्ने उद्देश्यसहित भक्तपुरमा प्रविधि प्रदर्शनी गरिएको छ । ‘सिकाइका लागि रोबोटिक्स’ भन्ने नारासहित आयोजित उक्त प्रदर्शनी मंगलबार सम्पन्न भएको हो ।
भक्तपुरको एभरेस्ट स्कूलले उक्त प्रदर्शनी कार्यक्रम आयोजना गरेको हो । अब सिकाइ पाठ्यपुस्तकमा मात्र होइन, प्रयोगशालामा जन्मिन्छ भन्ने कन्सेप्टका आधारमा यसलाई सबैलाई सिकाउनुपर्ने आयोजकहरुको भनाइ छ । मानिसको ज्ञान रटाइबाट नभइ, सिर्जनाबाट परिपक्व हुन्छ भन्ने सोचका साथ प्रदर्शनी आयोजना गरिएको पनि आयोजकले जनाएको छ।
विद्यालयले विज्ञान र प्रविधिबाट निर्देशित युगमा विद्यार्थीलाई पुस्तकभन्दा बाहिरको प्रयोग र नवप्रवर्तनतर्फ उन्मुख गराउने लक्ष्य राखेको बतायो।
उक्त प्रविधि प्रदर्शनीमा विद्यार्थीहरूले कम्प्युटर, इन्टरनेट, कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्सजस्ता प्रविधि प्रयोग गरेका थिए।
कक्षा २, ३ र ८ का विद्यार्थीहरूले दैनिक जीवनसँग सम्बन्धित आधुनिक यन्त्र र मोडेलहरू प्रदर्शन गरे। ती यन्त्रहरू केवल प्रदर्शनका वस्तु नभई नेपालको प्रविधिमुखी भविष्यको झलक देखिन्थे।
अभिभावकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ आकर्षक बनायो। उनीहरूले विद्यार्थीको सिर्जनशीलता, व्यवहारिक ज्ञान र आत्मविश्वासको प्रशंसा गरे।
उद्घाटन सत्रमा संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विज्ञान र प्रविधिबिना विकास सम्भव नभएको बताए।
उनीले कृत्रिम बौद्धिकताको महत्व र प्रयोगबारे प्रकाश पारे। कार्यक्रममा ४० वटा रोबोटिक्स सम्बन्धी सामग्री प्रदर्शन गरिएका थिए।
यसैबीच, ‘विज्ञान पढेर होइन, गरेर सिकिन्छ’ भन्ने अभियानलाई बलियो बनाउँदै स्कुलले विज्ञान र प्रविधि सम्बन्धी विशेष प्रदर्शनी पनि सम्पन्न गर्यो।
कक्षा ४ र ५ का विद्यार्थीहरूले सौर्य प्रणाली, सौर्य ऊर्जाबाट चल्ने उपकरण र सरल यन्त्रहरू प्रस्तुत गरे, जसले सबैको ध्यान आकर्षित गर्यो।


