- जगत वाशिष्ठ
सुर्खेत । नर्वेका राजदूत डाग्नी म्योसले बिहीबार मध्यपश्चिम विश्वविद्यालयमा अन्तरक्रिया गरेका छन्। उनीसँगै युएनडीपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकासहितको टोली पनि सहभागी थियो।
राजदूत म्योसले उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमसहित विश्वविद्यालय परिवारसँग भेटवार्ता गरे। उनले समावेशी शिक्षामा विश्वविद्यालयसँगको सहकार्यलाई उच्च प्रशंसा गर्दै आगामी दिनमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमलाई निरन्तर सहयोग रहने बताए। पहिलो पटक विश्वविद्यालयमा आउन पाउँदा खुशी लागेको उनले बताए।
उपकुलपति गौतमले नेपाल–नर्वे सम्बन्ध मित्रता, सहयोग र सम्मानमा आधारित भएको उल्लेख गरे। उनले यस अन्तरक्रियाले उच्च शिक्षामा भइरहेको सहकार्यलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे। कर्णालीको पछाडि परेको मानव विकास सूचकांक सुधारमा विश्वविद्यालयको भूमिकालाई उनले विशेष जोड दिए। नर्वे नेपालका लागि शिक्षा, मानव अधिकार, ऊर्जा र वातावरण संरक्षणका क्षेत्रमा निरन्तर सहयोग गर्ने विश्वासिलो साझेदार रहेकाे उनकाे भनाइ थियाे । नर्वेजियन राजदूतको भ्रमण विश्वविद्यालयका लागि अर्थपूर्ण भएको उनले बताए।
कार्यक्रम रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलको स्वागत मन्तव्यबाट सुरु भयो। अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको संक्षिप्त परिचय प्रस्तुत गरे। कार्यक्रम योजना विकास तथा अनुगमन निर्देशनालयका निर्देशक डा. विष्णुकुमार खड्काले सञ्चालन गरे।
उपकुलपति गौतमले टोलीलाई धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरेका थिए। प्रशासकीय अधिकृत शेरबहादुर केसीका अनुसार राजदूत र टोलीलाई विश्वविद्यालय परिवारले औपचारिक विदाइ गरेको थियो।
यस अवसरमा उपकुलपति गौतमले नोरहेड अन्तर्गत सञ्चालित ‘बिल्डिङ इन्क्लुसिभ एजुकेशन इन नेपाल (BIEPN)’ परियोजनाको उपलब्धि प्रस्तुत गरे। ओस्लोमेटको नेतृत्वमा TU, इनल्यान्ड नर्वे युनिभर्सिटी र मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा अघि बढेको परियोजनाले समावेशी र विशेष आवश्यकता शिक्षामा ठूलो योगदान दिएको उनले बताए।
परियोजनाले प्रमाण–आधारित शिक्षण, अनुसन्धान र नीति निर्माणमा विश्वविद्यालयलाई मजबुत बनाएको उनले उल्लेख गरे। यसले समावेशी शिक्षाका लागि दक्ष जनशक्ति उत्पादन गर्ने आधार तयार गरेको उनको भनाइ थियो।
मध्यपश्चिम विश्वविद्यालयले २०२६ मा अन्तर्राष्ट्रिय समावेशी शिक्षा सम्मेलन गर्ने तयारी गरिरहेको पनि उपकुलपति गौतमले जानकारी दिए। नर्वेजियन साझेदारहरूसँग संयुक्त परियोजना र शैक्षिक आदानप्रदानका नयाँ सम्भावना खोजिने उनले बताए।





