- जगत वाशिष्ठ
सुर्खेत। वीरेन्द्रनगर–५ चिसापानीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले ४७औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेस सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सुर्खेत कर्णालीको आकर्षण केन्द्रका रूपमा विकसित हुँदै गएको उल्लेख गरे। उनले वीरेन्द्रनगरका विद्यालय संरचना दिगो तथा आधुनिक बनाउन सरकार प्रतिवद्ध रहेको बताए। विद्यालयका लागि हरेक वर्ष बहुवर्षीय योजना तयार गर्दै शैक्षिक क्षेत्रलाई व्यवस्थित बनाइने उनको भनाइ थियो।
मन्त्री भण्डारीले सूचना–प्रविधिको युगअनुसार विद्यालयमा नवप्रवर्तनात्मक कार्यक्रम अघि बढाउनु आवश्यक रहेको बताए। गुणस्तरीय शिक्षा अभिभावकको सक्रियतासँग जोडिएको भन्दै उनले विद्यालय र अभिभावकबीच सहकार्य बढाउन आग्रह गरे। देशभर नैतिक शिक्षामा देखिएको चुनौतीप्रति संकेत गर्दै उनले विद्यालयका क्रियाकलाप नैतिकतामुखी हुनुपर्ने धारणा राखे।
साे अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गरिएको घोषणा पनि गरिएको छ। शिक्षा विकास निर्देशनालय सुर्खेतकी निर्देशक दीपा हमालले १ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै कोष आफ्ना पिता हिरालाल हमालको स्मृतिमा समर्पित हुने बताइन्।
उनका अनुसार अक्षयकोष विद्यालयको शैक्षिक सुधार तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति वितरणमा प्रयोग गरिनेछ। उनले विद्यालयको समग्र प्रगतिका लागि समुदाय, अभिभावक र स्थानीय तहको साझा प्रतिबद्धता अनिवार्य रहेकोमा जोड दिइन्।


