सुर्खेत । सुर्खेतको एक विद्यालयका विद्यार्थीको निधन प्रकरणमा विद्यालयका शिक्षकहरुमाथि आरोप लगाइएको भन्दै त्यसप्रति विभिन्न सरोकारवाला शिक्षक संघसंस्थाहरुले आपत्ती जनाएका छन् । साथै विद्यालय परिवारले पनि विद्यार्थीको निधनलाई लिएर शिक्षकको बदनाम गर्न खोजिएको भन्दै आपत्ती जनाएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ धुलियाविटमा रहेको शिव माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र अर्जुन वादीको मंसिर १० गते साँझ ७ बजेतिर निधन भएको थियो । विद्यालयका अनुसार विद्यार्थी अर्जुन वादीले आत्महत्या गरेको बुझिएको छ । तर, केही व्यक्तिहरुले विद्यालयका शिक्षक र प्रधानाध्यापकले स्कूलमा दिउसो तनाव दिएका कारण साँझ आत्महत्या गरेको भन्दै भ्रम फैलाएको भन्दै त्यसप्रति सरोकारवालाले आपत्ती जनाएका हुन् ।
उक्त घटनाका विषयमा नेपाल शिक्षक महासंघ सहित सुर्खेत जिल्लाका पाँच वटा शिक्षक संघ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरी आपत्ती जनाएका छन् । विज्ञप्तिमा विद्यालयका प्रधानाध्यापक र शिक्षकमाथिको आरोप र नकारात्मक टिप्पणी निन्दनीय रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “घटनासँग जोडेर विद्यालयका प्रअमाथि जुन आरोप लगाइएको छ, यसले अबको समाज कता जाँदैछ भन्ने कुराले चिन्तित बनाएको छ । एउटा शिक्षकले जहिले पनि विद्यार्थीहरुको सर्वागिण विकासको सोच राखेर काम गर्दछ । उसमा विद्यार्थीहरु सधै सत्कर्ममा लागुन भन्ने एकमात्र सोच रहेको हुन्छ । शिक्षकमाथिको आरोप र नकारात्मक टिप्पणी निन्दनीय छ ।”
नेपाल शिक्षक महासंघकी सुर्खेत अध्यक्ष तेजकुमारी चपाई, सहअध्यक्ष कमल शाही, सचिव नविनकुमार कँडेल, नेपाल शिक्षक संघका अध्यक्ष सविता मल्ल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष ललित गुरुग, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष सुशिला शर्मा, नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष देवबहादुर वली र नेपाल राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष भुमाकुमारी खाणको हस्ताक्षरमा जारी संयुक्त विज्ञप्तिमा घटनाको सत्यतथ्य छानविन गर्न माग गरिएको छ । साथै घटनालाई अतिरञ्जित गरी शिक्षक तथा प्रधानाध्यापकमाथि कुनै पनि खालको टिकाटिप्पणी नगर्नहुन विद्यार्थी, अभिभावक तथा सरोकारवाला सबैमा आग्रह गरिएको छ ।
त्यसैगरी शिव माविले पनि एक विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई प्रयोग गरी प्रदर्शन गरिएको र हुँदै नभएको कुरालाई अतिरञ्जित गराएर विद्यालयमा आँच आउने गरी मिडियावाजी गरिएको भन्दै त्यसप्रति आपत्ती जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिवारी र शिक्षक अध्यक्ष धिरेन चन्दको हस्ताक्षरमा जारी विज्ञप्तिमा घटनाको तत्काल छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरिएको छ ।
केही विद्यार्थीहरुले मंसिर ९ गतेका दिन विद्यालयमा मानव स्वास्थ्यमा असर पर्ने पदार्थ र निषेधित केही सामग्रीहरु कक्षामा ल्याएको भेटिएको र त्यसका बारेमा छलफल गर्न अभिभावकहरुलाई जानकारी गराएर मंसिर ११ गते अभिभावकहरुलाई बोलाइएको थियो । तर, मंसिर १० गते साँझ ७ बजेतिर निज बालकले आत्महत्या गरेपछि उक्त छलफल नभएको बताइएको छ ।



