पक्की भवन बनेपछि पढाइमा सहज
कालिकोट। कालिकोटको तिलागुफा नगरपालिका–१, चौरभिग्मस्थित जनता आधारभूत विद्यालयका विद्यार्थीहरू अब बल्ल सुरक्षित र पक्की कक्षाकोठामा बसेर पढ्न पाउने भएका छन्। विसं २०७२ को विनाशकारी गोरखा भूकम्प र २०७९ को वर्षाले क्षति पुर्याएको जीर्ण भवनमा करिब १० वर्षसम्म पढ्न बाध्य बालबालिकाहरूका लागि नयाँ तीनकोठे पक्की भवन तयार भएको छ।
विसं २०६४ मा स्थापित यस विद्यालयमा हाल अतिविपन्न समुदायका ४० जना बालबालिका अध्ययनरत छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णजीत बुढाले कक्षाकोठा नहुँदा बालबालिकाहरू कहिले खुला चौरमा त कहिले जोखिमपूर्ण भवनमा पढ्न बाध्य रहेको स्मरण गर्दै नयाँ भवन निर्माण गरिदिएकोमा तिलागुफा नगरपालिका र नेपाल रेडक्रसलाई धन्यवाद ज्ञापन गरे।
यो भवन नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा निर्माण गरेको हो। खासगरी, लक्जम्बर्ग रेडक्रसको आर्थिक र प्राविधिक सहयोगमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ ले भवन निर्माणमा सहयोग पुर्याएको हो।
नवनिर्मित भवनको अवलोकनका क्रममा नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने थप स्रोतसाधनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नगरप्रमुख उपाध्यायको विशेष सक्रियतामा नै विद्यालयको नयाँ भवन निर्माण भएको हो। वडाध्यक्ष मनबहादुर बुढाले पनि अब बालबालिकाले चौरमा पढ्नुपर्ने अवस्था अन्त्य भएको र वडाले आवश्यक स्रोतसाधनका लागि पहल गर्ने बताए।
नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले गोरखा भूकम्प र अन्य विपदले क्षति पुर्याएका विद्यालय, स्वास्थ्य संस्था तथा खानेपानी संरचनाहरूलाई पुनर्निर्माण गर्न रेडक्रसले निरन्तर सहयोग गरिरहेको जानकारी दिइन्।
जुविथाको सत्यदेवी माविमा खानेपानी र शौचालयको सुविधा
कालिकोटकै तिलागुफा नगरपालिका वडा ६, जुविथास्थित बालीचौरमा रहेको सत्यदेवी माध्यमिक विद्यालयमा पनि वर्षौँदेखिको समस्या अन्त्य भएको छ। विसं २०३८ मा स्थापित यस विद्यालयमा खानेपानी र शौचालयको सुविधा पुगेपछि विद्यार्थीहरूको पढाइमा सहजता आएको हाे ।
खानेपानीको धारा जडान भएपछि घरबाट पानी बोकेर विद्यालय आउनुपर्ने र शौचका लागि जङ्गल छिर्नुपर्ने अवस्था अन्त्य भएको कक्षा ९ मा अध्ययनरत नर्जन शाहीले बताए। जुनियर तथा युवा रेडक्रस सर्कल कार्यसमितिका अध्यक्षसमेत रहेका शाहीले शौचालय बनेपछि पठनपाठनमा समस्या नआउने भन्दै नेपाल रेडक्रसलाई धन्यवाद दिए।
गाईबस्तुले कक्षाकोठा कब्जा गर्ने समस्या पनि समाधान
विद्यालयका प्रधानाध्यापक सनम शाहीका अनुसार पहिले भवनको तल्लो तलामा गाईबस्तु राखिन्थे। विद्यार्थीले गाईबस्तुको गोबर सफा गरेर र गाईबस्तुलाई बाहिर धपाएर मात्र कक्षाकोठामा पस्नुपर्ने अवस्था थियो। अब भवनमा ‘च्यानल गेट’ को व्यवस्था भएपछि गाईबस्तु छिर्न बन्द भएको छ।
तिलागुफा नगरपालिकाले लक्जम्बर्ग रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ मार्फत यस विद्यालयमा खानेपानी, शौचालय र विद्यालय भवनमा च्यानल गेटको व्यवस्थापन गर्न सहयोग गरेको हो। प्रधानाध्यापक शाहीले यी सुविधाले विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरेका छन्।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला संयोजक रवि लामिछानेले विकट क्षेत्रका समुदायका मागहरूलाई सम्बोधन गर्न कार्यक्रमले नगरपालिकालाई सहयोग गरिरहेको जानकारी दिए।


