धुलिखेल । काठमाडौँ विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज हुँदैछ। समारोहको पहिलो चरणमा विभिन्न तह र विधाका गरी दुई हजार २०९ जना विद्यार्थी दीक्षित हुने भएका छन्। दीक्षित हुने विद्यार्थीहरूमा १७ देशका १९६ जना विदेशी विद्यार्थी समेत रहेका छन्।
यसअघि बुधवार विश्वविद्यालयको १००औँ सिनेट बैठक सम्पन्र भएकाे थियाे । बालुवाटारमा सम्पन केयुकाे सिनेट बैठकबाट ३१ औं दीक्षान्त समाराेहकाे प्रथम चरणको ग्रेस लिष्टहरू पारित गरिएका थिए । साथै सिनेटबाट केयुका लागि विशेष प्रस्तावहरु पारित गरिएकाे बताइएकाे छ ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशिला कार्कीले अध्यक्षता गर्ने दीक्षान्त समाराेहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने बताइएको छ।
केयुका उपकुलपति अच्युत वाग्लेले दीक्षान्त समारोहमा नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले दीक्षान्त मन्तव्य दिने कार्यक्रम रहेको जानकारी दिएका छन्।

कुन संकायबाट कति दीक्षित ?
यसपटक दीक्षित हुने कूल दुई हजार २०९ विद्यार्थीमध्ये सबैभन्दा बढी स्कूल अफ मेडिकल साइन्सेजका ८८१ जना रहेका छन्। त्यस्तै, स्कूल अफ म्यानेजमेन्टका ३७८, स्कूल अफ इञ्जिनियरिङका ३४०, स्कूल अफ एजुकेसनका २९४, स्कूल अफ साइन्सका १९७, स्कूल अफ आर्टस्का ८३ र स्कूल अफ ल का ३६ जना विद्यार्थी दीक्षित हुँदैछन्।
तहगत रूपमा हेर्दा, एक हजार ७२८ जना स्नातक तहका, ३९७ जना स्नातकोत्तर तहका, ५० जना पिजिडी तहका र सात जना विद्यावारिधी, डीएम तथा एमसीएच तहका विद्यार्थीहरू यस समारोहबाट दीक्षित हुनेछन्।
५८ देशका विद्यार्थी दीक्षित भइसके
दीक्षित हुने मध्ये १९६ जना विदेशी विद्यार्थीहरू समेत रहेका छन् । अष्ट्रेलिया, भारत, जापान, चीन, श्रीलङ्का, माल्दिभ्स, संयुक्तराज्य अमेरिका, बेलायत लगायत १७ देशका विदेशी विद्यार्थी दिक्षित हुने उपकुलपति वाग्लेले जानकारी दिएका छन्। समारोहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विभिन्न पदकहरू समेत प्रदान गरिने विश्वविद्यालयले जनाएको छ।
३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौँ विश्वविद्यालयबाट दीक्षित हुनेको कूल सङ्ख्या ५० हजार ४० जना पुगेको छ। तीमध्ये पाँच हजार ८६० जना (करिब १२ प्रतिशत) विदेशी विद्यार्थी रहेका छन्। उपकुलपति वाग्लेका अनुसार, हालसम्म विविध विधामा कूल ५८ देशका विद्यार्थी केयुबाट दीक्षित भइसकेका छन्। दीक्षित विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढी भारतका चार हजार ९७६ जना छन्।



