सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा पाठ्यक्रम अभिमुखीकरण तथा प्रशिक्षक प्रशिक्षण तालिम मंगलवार सुरु भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कूल अफ एजुकेसनको आयोजना र फिनल्यान्ड तथा युरोपेली संघको सहयोगमा सञ्चालित विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक सहयोग तथा सहकार्य टेक्सेस नेपाल परियोजनाको सहयोगमा तालिम कार्यक्रम सुरू भएकाे हाे । वीरेन्द्रनगर, सुर्खेतमा सुरू भएकाे दुइ दिने अावासीय पाठ्यक्रम अभिमुखीकरण तथा प्रशिक्षक प्रशिक्षण तालिममा ग्र्याजुएट स्कूल अफ एजुकेसन केन्द्रीय विभाग सहित विभिन्न आङ्गिक क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरूको सहभागिता रहेको छ ।
तालिमले पाठ्यक्रम विकास, शिक्षण विधि, मूल्याङ्कन प्रक्रिया तथा विद्यार्थी मार्गदर्शन पुस्तिका विकास जस्ता मुख्य पक्षमा तालिम केन्द्रित रहने आयोजकले जनाइएको छ । वीएड तहको पाठ्यक्रम परिमार्जन तथा पुनर्निर्माण भई प्रथम सेमेष्टरको पाठ्यक्रम लागू भैसकेको सन्दर्भमा परिमार्जित पाठ्यक्रम प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्रशिक्षक उत्पादन गर्न तालिम सहयोगीसिद्ध हुने विश्वास गरिएको छ ।
कार्यक्रमको पहिलो दिन अभिमुखीकरण, पाठ्यक्रम र शिक्षण रणनीतिहरू सम्बन्धी सत्र सञ्चालन भएको छ । जसको सहजीकरण विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक सहयोग तथा सहकार्य टेक्सेस नेपाल परियोजना अन्तर्गत समावेशी शिक्षामा अन्तर्राष्ट्रिय विज्ञका रुपमा कार्यरत फिनल्याण्डकी नागरिक डा. माया मकिनेन, मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मीप्रसाद आचार्य र अन्तराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले गरेका थिए ।


