नेपालगञ्ज । नेपालगञ्जस्थित मंगल प्रसाद नमूना माध्यमिक विद्यालयमा विज्ञान प्रविधि प्रदर्शनी सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आज आयोजित प्रदर्शनीमा विद्यार्थीहरूले आफैं निर्माण गरेका विभिन्न वैज्ञानिक सामग्री तथा नमूनाहरू प्रदर्शन गरेका थिए ।
प्रदर्शनीको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले विद्यार्थीलाई सिर्जनशील र जिज्ञासु बनाउन यस्ता प्रकारका प्रदर्शनी अत्यन्त आवश्यक रहेको बताए । उनले यसले विद्यार्थीको क्षमता अभिवृद्धि तथा व्यवहारिक सिकाइमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रमअनुसार विद्यार्थीमा खोज, अनुसन्धान र निर्माणको भावना विकास गर्न विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयकी प्रधानाध्यापक सन्ध्या गुप्ताले जानकारी दिइन् । उनले देशभरबाट छनोट गरिएका ४२ विद्यालयमध्ये बाँके जिल्लाबाट मंगल प्रसाद नमूना मावि एक मात्र विद्यालय रहेको उल्लेख गरिन् । प्रधानाध्यापक गुप्ताले विद्यालय र विद्यार्थीको उज्ज्वल भविष्यका लागि सम्पूर्ण टिम प्रतिबद्ध रहेको बताउँदै स्थानीय सरकार, समुदाय तथा अभिभावकसँग सहकार्यको अपिल गरिन् ।
प्रदर्शनीमा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई पुरस्कृतसमेत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकेश सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यसै अवसरमा गत आइतबारदेखि सञ्चालनमा रहेको खेलकुद सप्ताहको पनि समापन गरिएको छ । खेलकुद सप्ताहअन्तर्गत विभिन्न विधाका विजेताहरूलाई शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा नेपालगञ्जका पूर्व मेयर विजय गुप्ता, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दामोदर घिमिरेले गरेका थिए ।


