EduPress
'

कठ्याङ्ग्रिँदो चिसोमा आगो तापेर पढ्दै हिमाली क्षेत्रका बालबालिका

Author Image
मङ्गलवार, मंसिर ३०, २०८२
Text Size:

मुगु । जाडो याम सुरु भएसँगै उच्च हिमाली भेगका विद्यालयहरूमा बालबालिकाको पठनपाठन थप चुनौतीपूर्ण बन्दै गएको छ। मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु गाउँमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरू अहिले चर्को जाडोबाट जोगिन आगो ताप्दै अध्ययन गर्न बाध्य भएका छन्। अत्यधिक चिसोका कारण नियमित कक्षाकोठामा बसेर पढ्न नसकिने अवस्था आएपछि आगो बालेर कक्षा सञ्चालन गर्नुपरेको विद्यालयका शिक्षक बताउँछन् ।

उक्त विद्यालयमा हाल ८५ जना विद्यार्थी अध्ययनरत छन्। जाडो अत्यधिक नबढ्दासम्म कक्षाकोठाभन्दा बाहिर खुला चौरमा कक्षा सञ्चालन गरिँदै आएको थियो। तर पुस लागेसँगै तापक्रम एक्कासि घटेपछि बाहिर बस्न असम्भव भएपछि विद्यार्थी र शिक्षक आगो बालेर वरिपरि बसेर पठनपाठन गरिरहेका छन्। विद्यालयका शिक्षकका अनुसार चिसोले हातखुट्टा कठ्याङ्ग्रिने, काप्ने र लामो समय ध्यान केन्द्रित गर्न नसक्ने समस्या देखिएको छ, जसले सिकाइमा प्रत्यक्ष असर पारेको छ।

नेपालका हिमाली भेगमा पठनपाठनको अवस्था यस्तै कठिन छ। अत्यधिक जाडो, हिउँपात, भौगोलिक विकटता र न्यून भौतिक पूर्वाधारका कारण यहाँका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न मुस्किल पर्छ। धेरैजसो विद्यालयमा न्यानो कक्षाकोठा, हीटर, न्यानो पोशाक तथा पर्याप्त शैक्षिक सामग्रीको अभाव छ। जाडो याममा कतिपय विद्यालयहरू अस्थायी रूपमा बन्द गर्नुपर्ने अवस्था समेत आउने गरेको छ, जसले विद्यार्थीको शैक्षिक निरन्तरतामा असर पुर्‍याउँछ।

यसका साथै, हिमाली क्षेत्रमा शिक्षक अभाव, लामो दूरी हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता र परिवारको जीविकोपार्जनमा बालबालिका संलग्न हुनुपर्ने अवस्था पनि पठनपाठनमा अवरोध बनेको छ। शिक्षा क्षेत्रमा लगानी अभाव र स्थानीय आवश्यकता अनुसारका कार्यक्रम नहुनुले समस्या झनै जटिल बनाएको सरोकारवालाहरूको भनाइ छ।

स्थानीय बासिन्दा तथा शिक्षकहरूले जाडो प्रतिरोधी कक्षाकोठा निर्माण, न्यानो कपडा र आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। हिमाली भेगका बालबालिकाले पनि समान गुणस्तरको शिक्षा पाउने वातावरण बनाउन दीर्घकालीन योजना र तत्काल सहयोग आवश्यक देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खबर