सुर्खेत । कर्णाली प्रदेशमा शिक्षालाई विकासको मूल आधार बनाउँदै सञ्चालन गरिएको प्रदेश संलग्नता सुविधा कार्यक्रम समापन भएको छ । बेलायत सरकारको सहयोग र आइडिया इन्टरनेसनलको सहकार्यमा सञ्चालित उक्त कार्यक्रमको समापनसँगै सिकाइ आदानप्रदान तथा आगामी दिनका मार्गचित्रबारे सरोकारवालाबीच गहन छलफल समेत गरिएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित समापन तथा सिकाइ आदानप्रदान कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री तथा उच्च पदस्थ अधिकारी, नेपालका लागि वेलायतका राजदूत, प्रदेश योजना आयोगका पदाधिकारी, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति, सरकारी तथा गैरसरकारी विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा विशेष रूपमा कर्णालीको शिक्षा प्रणाली सुदृढीकरण, स्थानीय ज्ञानको संरक्षण र विश्वविद्यालयलाई क्षेत्रीय विकासको मेरुदण्डका रूपमा अघि बढाउने विषयमा जोड दिइयो ।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले शिक्षा नै दीगो विकासको आधार भएको उल्लेख गर्दै कर्णालीको शैक्षिक धरोहर मध्यपश्चिम विश्वविद्यालयको गुणस्तरीय विस्तार र अनुसन्धान क्षमताको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । नेपाल-वेलायतबीचको ऐतिहासिक सम्बन्ध स्मरण गर्दै उनले आगामी दिनमा शिक्षालगायत विकासका क्षेत्रमा वेलायत सरकारसँग सहकार्यका नयाँ सम्भावना खोजिने बताए ।
विशिष्ट अतिथि सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा र सीप विकासलाई प्रदेशको आर्थिक रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले प्राकृतिक स्रोतको उपयोगसँगै शिक्षित जनशक्तिको सदुपयोग बिना समृद्धि सम्भव नहुने धारणा व्यक्त गरे ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले विश्वविद्यालय कर्णालीमै अवस्थित भएकाले यहाँको सामाजिक उत्तरदायित्व पूरा गर्दै स्थानीय आवश्यकताअनुसारका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताए । कर्णालीको रैथाने ज्ञान, सीप र क्षमताको विकासमा टेवा पुग्ने पाठ्यक्रम निर्माणमा विश्वविद्यालय केन्द्रित रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारलाई नीति, योजना र बजेटमा विश्वविद्यालयलाई प्राथमिकतामा राख्न आग्रह गरे । दातृ निकायहरूसँगको सहकार्य स्मरण गर्दै उनले कर्णालीको शिक्षा र विकासमा योगदान पुर्याएकोमा वेलायत सरकारप्रति आभार व्यक्त गरे ।
उपकुलपति गौतमले कपी-पेस्ट विकास मोडल असफल भएको टिप्पणी गर्दै कर्णालीको भूगोल, मनोविज्ञान र सम्भावनालाई बुझेर आफ्नै शिक्षामा आधारित विकास मोडल तयार गर्नुपर्ने सुझाव दिए ।
नेपालका लागि वेलायतका राजदूत डा. एन्ड्र्यू लङले नेपाल–वेलायत सम्बन्ध आत्मीय र सहकार्यपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि शिक्षा, सुशासन र नीतिगत सुधारमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । आइडिया इन्टरनेसनलमार्फत कर्णालीका विभिन्न जिल्लामा पुगेर शिक्षा र नीतिगत प्रक्रियासँग जोडिन पाएको अनुभव उनले साझा गरे ।
छलफल सत्रमा सहभागीहरूले प्रदेशका नीति निर्माण र कार्यान्वयन प्रक्रियामा शिक्षित जनशक्ति परिचालन गर्न, विश्वविद्यालय–सरकार–विकास साझेदारबीच समन्वय बलियो बनाउन तथा अस्वाभाविक रूपमा भइरहेको श्रमशील युवाको पलायन रोक्न शिक्षा र रोजगारीलाई जोड्ने ठोस योजना आवश्यक रहेको सुझाव दिए ।
कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगद्वारा प्रकाशित दोस्रो पञ्चवर्षीय योजनाको सारांश पुस्तिका विमोचन गरिनुका साथै राजदूत डा. लङसहित दातृ निकायका प्रतिनिधिहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य आयोग सदस्य डम्बरबहादुर रावलले राखेका थिए भने कार्यक्रम सञ्चालन मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले गरेका थिए ।


