EduPress
'

एमफिल लिडिङ टु पीएचडी कार्यक्रमको पाठ्यक्रम प्रबोधिकरण कार्यशाला सम्पन्न

Author Image
शनिवार, पौष ४, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एजुकेशन अन्तर्गत सञ्चालन हुने एमफिल लिडिङ टु पीएचडी कार्यक्रमको पाठ्यक्रम प्रभावकारी कार्यान्वयन र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले पाठ्यक्रम प्रबोधिकरणसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।

कार्यशालामा पाठ्यक्रमको संरचना, अनुसन्धानमुखी दृष्टिकोण तथा कार्यान्वयनका व्यावहारिक पक्षमा केन्द्रित रहँदै पहिलो सेमेस्टर अन्तर्गतका चारवटा विषयबारे गहन प्रस्तुति र छलफल गरिएको थियो । कार्यशालामा विषय विज्ञहरू प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. पारसमणि भण्डारी, प्रा.डा. पेशल खनाल, प्रा.डा. केशव पोख्रेल र डा. बेदप्रसाद ढकालले विषयगत प्रस्तुति प्रस्तुत गरेका थिए । प्रत्येक प्रस्तुतिपछि विज्ञ समीक्षकबाट समीक्षा तथा सहभागीहरूसँग अन्तरक्रिया समेत गरिएको थियो ।

ग्र्याजुएट स्कूल अफ एजुकेशनका डीन प्रा.डा. यमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यशालाका प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. शोभाखर कँडेल रहेका थिए । उद्घाटन सत्रमा पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मीप्रसाद आचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै पाठ्यक्रम प्रबोधिकरणले विश्वविद्यालयको शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रमुख अतिथि प्रा.डा. कँडेलले अनुसन्धानमुखी उच्च शिक्षाको सुदृढीकरणका लागि यस्ता कार्यक्रम अपरिहार्य रहेको उल्लेख गरे ।

कार्यशालामा योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मीप्रसाद आचार्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीको उपस्थिति रहेको थियो । साथै MICD का निर्देशक कमलेश डिसी, विषय समिति अध्यक्ष डा. प्रेमकुमारी ढकाल, प्राध्यापक तथा प्रशासनिक कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

समापन सत्रमा अध्यक्ष तथा डीन प्रा.डा. यमबहादुर कार्कीले पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, अनुसन्धान संस्कृतिको प्रवर्द्धन तथा शैक्षिक गुणस्तर सुदृढीकरणप्रति विश्वविद्यालय प्रतिबद्ध रहेको स्पष्ट पारे । कार्यशालाको सञ्चालन तथा सहजीकरण उपप्राध्यापक भिमबहादुर रोकायाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खबर