EduPress
'

अछाम बहुमुखी क्याम्पसको ३४औँ वार्षिक उत्सव सम्पन्न

Author Image
आइतवार, पौष ५, २०८२
Text Size:

मंगलसेन। अछाम बहुमुखी क्याम्पसको ३४औँ वार्षिक उत्सव तथा साधारणसभा मंगलसेनमा सम्पन्न भएको छ। कार्यक्रममा क्याम्पसको विगतदेखि वर्तमानसम्मको प्रगति, भौतिक पूर्वाधार विस्तार र भावी योजनाबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा निवर्तमान सांसद शाहले स्थापना कालदेखि नै क्याम्पसको विकासमा आफू निरन्तर संलग्न रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि गरिएको सामूहिक प्रयासकै कारण क्याम्पस आजको अवस्थामा आइपुगेको बताए। वर्तमान कार्यसमितिले थप स्तरवृद्धिका लागि उदाहरणीय काम गरेको उल्लेख गर्दै सबै क्षेत्रबाट सहयोग जुटे यसलाई क्षेत्रकै नमुना क्याम्पसका रूपमा विकास गर्न सकिनेमा उनले जोड दिए। विगत र वर्तमानको तुलना गर्दा देखिएको उल्लेखनीय प्रगतिलाई संस्थागत गर्दै अघि बढ्न उनले सुझाव दिए।

कार्यक्रमका अध्यक्ष तथा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले क्याम्पसलाई यो स्थानसम्म पुर्‍याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। नेतृत्व टोलीको निरन्तर मेहनत र इच्छाशक्तिले कठिन अवस्थामै पनि परिणाममुखी काम सम्भव भएको उदाहरण क्याम्पसले प्रस्तुत गरेको उनको भनाइ थियो। प्राध्यापकहरूको योजनाबद्ध प्रयाससँगै हाल पर्याप्त भौतिक संरचना निर्माण भइसकेको र थप संरचना निर्माण प्रक्रियामा रहेको जानकारी उनले दिए।

क्याम्पस प्रमुख डा. ध्रुवकुमार शाहीले क्याम्पसको शैक्षिक, प्रशासनिक र भौतिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रममा सहभागी सरोकारवालाहरूले क्याम्पसको थप विकासका लागि आ–आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

वार्षिक उत्सवमा नेपाली काँग्रेसका पूर्ण शाह, नेकपा एमालेका बृखबहादुर बोगटी, नेपाली कम्युनिष्ट पार्टीका बमबहादुर रावल, मंगलसेन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष झंकरप्रसाद भाट, षोडशा माध्यमिक विद्यालयका प्रधानाध्यापक बृकेशसिंह बोगटी, पत्रकार महासंघ अछामका उपाध्यक्ष टेकबहादुर थापा, विद्यार्थी सृजना साउद लगायतले मन्तव्य राखेका थिए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष पदमबहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष यज्ञराज ढुंगानाले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन उदयराज ढुंगानाले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खबर