EduPress
'

अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न, पाँच विशिष्ट व्यक्तित्व सम्मानित

Author Image
सोमवार, पौष ६, २०८२
Text Size:

इटहरी । इटहरीमा सम्पन्न दुई दिने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। जनता बहुमुखी क्याम्पसको आयोजनामा आयोजित ‘उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्व’ विषयक सम्मेलनको समापन समारोहमा क्याम्पसको स्थापना कालदेखि हालसम्म निरन्तर योगदान पुर्‍याउने पाँच जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको छ, जसमध्ये एक जनालाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो।

सम्मानित हुने व्यक्तित्वहरूमा पूर्व मन्त्री तथा तत्कालीन इटहरी गाउँ पञ्चायतका प्रधानमञ्च रामकुमार सुब्बा, तत्कालीन जिल्ला विकास समितिका सभापति रमेश श्रेष्ठ, क्याम्पसका पूर्व सञ्चालक समिति अध्यक्षद्वय मेदनीप्रसाद सिटौला र विश्व रिजाल तथा इटहरीका व्यवसायी भीमबहादुर पौडेल रहेका छन्। साथै, क्याम्पसका पूर्व सञ्चालक समिति अध्यक्ष स्वर्गीय हरिप्रसाद रिजाललाई मरणोपरान्त सम्मान गरिएको हो, जसको तर्फबाट उनकी श्रीमती पवित्रादेवी रिजालले सम्मानपत्र ग्रहण गरिन्। सबै सम्मानपत्र इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले प्रदान गरेका हुन्।

सम्मान ग्रहणका क्रममा व्यवसायी भीमबहादुर पौडेलले क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्, जसलाई सम्मेलनको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

दुई दिनसम्म चलेको सम्मेलनमा चार वटा कीनोट स्पिच, १५ प्लेनरी स्पिच, चार फिचर्ड स्पिच, ८४ कन्करेन्ट सेसनसहित समूह छलफल, कविता प्रस्तुति, अन्तरक्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र तथा कार्यशालाहरू सञ्चालन गरिएका थिए। सम्मेलनमा चार देशका अन्तर्राष्ट्रिय विज्ञसहित नेपालका ख्यातिप्राप्त शैक्षिक विज्ञहरूको प्रस्तुति रहेको थियो। आयोजकका अनुसार सम्मेलनमा करिब पाँच सयभन्दा बढी सहभागीको उपस्थिति थियो।

समापन समारोहका वक्ताहरूले इटहरीलाई पूर्वी नेपालकै शैक्षिक हबका रूपमा विकास गर्न स्थानीय सरकार, शैक्षिक संस्था, निजी क्षेत्र र समुदायबीच सकारात्मक र संगठित सहकार्य आवश्यक रहेकोमा जोड दिए। हाल जनता बहुमुखी क्याम्पसमा कोशी र मधेस प्रदेशका पाँच हजारभन्दा बढी विद्यार्थी विभिन्न संकायमा अध्ययनरत छन्।

प्रतिक्रिया

सम्बन्धित खबर