- जगत वाशिष्ठ
काठमाडौँ । विद्यालयमा साना बालबालिकालाई विवाहको मञ्चन गराउने बुटवलस्थित एभरेष्ट इङ्लिस बाेर्डिङ माध्यमिक विद्यालयलाई उपमहानगरपालिकाले बोलाएर सोधपुछ गरेको छ । उक्त स्कूलको अहिले सांस्कृतिक कार्यक्रमका नाममा साना बालबालिकाहरूको विवाह गराएपछि चौतर्फी आलोचना भइरहेको छ । चौतर्फी आलोचना हुन थालेपछि नगरपालिकाले विद्यालयका प्रअलाई बोलाएर त्यसबारे सोधपुछ गरेको हो ।
बुटवल उपमहानगरपालिकाका शिक्षाशाखा प्रमुख टिकाराम पन्थीले विद्यालयका प्रधानाध्यापकलाई बोलाएर सोधपुछ गरेको जानकारी दिए । छलफलपछि प्रअ कृष्ण न्यौपानेले विद्यालयका तर्फबाट यस विषयमा विज्ञप्ति निकालेर प्रष्ट पार्ने सहमति जनाएका थिए । नगरका शिक्षा शाखा प्रमुखले उनको विज्ञप्ति कस्तो आउँछ त्यही आधारमा थप कुरा गर्ने बताएका छन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यस विषयमा आवश्यक जाँचबुझ गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताएका छन् । अहिले बुटवल उपमहानगरपालिकाको नगरसभा चलिरहेकोले विस्तृत अध्ययन गर्न नपाएको उनले बताए ।
त्यसैगरी उपमहानगरकी उपप्रमुख सावित्रा देवी अर्यालले पनि यसबारेमा कानुनी प्रक्रिया अनुसार कारवाही हुने बताएकी छन् । उनले विधिविधान अनुसार जग्गे नै थापेर बिबाह गरिनु गलत भएको उल्लेख गर्दै यसले बालविवाहलाई प्रसय दिने बताइन । आफूले समाचार पढेपछि भिडियो हेरेको र त्यसपछि विद्यालयको प्रधानाध्यापकलाई बोलाएर कार्यालय प्रमुख, शिक्षाशाखा प्रमुख र आफू बसेर लामो छलफल गरेको पनि जानकारी दिइन । विद्यालयको तर्फबाट कमीकमजोरी भएको सच्याउने प्रतिवद्धता प्रधानाध्यापक कृष्ण न्यौपानेले जनाएको र कानुन आकर्षित हुने भएमा आवश्यक कानुनी प्रकृया अगाडि बढाएर कार्बाही गर्ने पनि उनले बताएकी छन् ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मेघनाथ पाध्याले विद्यालयमा यस्तो खालको गतिविधि हुन गलत भएको बताएका छन् । उनले विद्यालयमा नाटक जनचेतना देखाउनु परे पनि उमेर पुगेका व्यक्तिबाट गराउनु पर्ने बताए । उनले भने, कुनै मञ्चन मात्रै पनि विद्यालयमा गर्न पाइदैन । यसमा बालबिबाहको कानुन आकर्षित हुन्छ । सम्बन्तित मर्का पर्ने पक्षले जाहेरी दिएमा आवश्यक कानुनी प्रकृया अगाडि बढ्छ ।
बुटवल उपमहानगरपालिका वार्ड नम्बर ८ सुख्खानगरमा सञ्चालित संस्थागत विद्यालय एभरेष्ट बोर्डिङ स्कूलले आफ्नो विद्यालयको वार्षिक क्यालेण्डर अनुसार विविध सांस्कृतिक कार्यक्रमका नाममा बालबालिकालाई बिबाहको सबै विधि विधान पुर्याएर बाल विवाह मञ्चन गराएको थियो । त्यसको भिडियो सार्वजनिक भएपछि एडुप्रेस अनलाइनले विद्यालयमा बालविवाहको मञ्चन गराउने एभरेष्ट बोर्डिङ स्कूलको कार्यप्रति चौतर्फी आलोचनाू शीर्षकमा बुधबार समाचार प्रकाशन गरेको थियो । एडुप्रेसले समाचार प्रकाशन गरेपछि धेरैको ध्यान आकृष्ट भएको थियो । अहिले चौतर्फी यस घटनाको आलोचना भइरहेको छ । विद्यालयले भने विभिन्न व्यक्तिहरु लगाएर एडुप्रेस र समाचार लेख्ने पत्रकारहरुमाथि दवाव तथा धम्कीसम्म दिन थालेको छ । तर, यसको अझै विरोध रोकिएको छैन ।
चाैतर्फी आलोचना अझै बढ्दै
विद्यालयले साना बालबालिकालाई प्रयोग गरी विवाहको सम्पूर्ण विधिविधानसहित मञ्चन गराएको घटनाले देशभर गम्भीर बहस जन्माएको छ । ‘सांस्कृतिक कार्यक्रम’ को नाममा गरिएको उक्त गतिविधि बालविवाहलाई सामान्यीकरण गर्ने कार्य भएको भन्दै सामाजिक, कानुनी र शैक्षिक वृत्तमा कडा आलोचना भइरहेको छ ।
यो समाचार सार्वजनिक भएपछि सामाजिक अभियन्ता आशिका तामाङले यो निकै गम्भीर घटना भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “भनेपछि बुटवलको एभरेस्ट बोर्डिङ स्कूलमा पढ्ने नानीबाबूले अहिलेसम्म बिबाह भएको नै देखेका छैनन् होइन त ? नेपाली समाजमै हुर्के बढेका त हुँदै होइन रहेछन् होइन त ? यी जोडी नानीबाबूले बेलुका आफ्नो आफ्नो घर गएपछि सुत्ने बेला के सोच्छ्न होला ? ओहो आज त मैले विवाह गर्न सिके, भोलि फेरि मेरा मास्टरले बच्चाबच्ची कसरी बनाउने पनि सिकाउने छ्न् भन्दै कोल्टो फेर्दै निदाउनु हुन्छ होला ।”
अभियन्ता आशिका तामाङको उक्त पोष्टमा १७ सयभन्दा बढीले कमेन्ट गर्दै अधिकांशले विद्यालयको यस्तो कार्यको निन्दा गरेका छन् र कारवाहीको माग गरेका छन् । उनीहरुले सम्बन्धित विद्यालयका प्रधानाध्यापक र सञ्चालकलाई कार्बाही गर्न माग गरेका छन् ।
त्यस्तै उक्त भिडियोलाई सामाजिक सञ्जालमा शेयर गर्दै अधिवक्ता दिपकराज जोशीले लेखेका छने, “बालविवाह गराएको किन ? परिवारको अनुमति लिएको कि नलिएको ? बालबालिकालाई विधि विधान पूरा विवाह गराउने कुनै कानून छैन । यो गैह्रकानूनी विवाह हो । यसले सन्देश पनि राम्रो जाँदैन । भोलिको बालबालिकाको मनोविज्ञानमा कस्तो असर पर्छ ।” अधिवक्ता जोशीले नियामक निकायमाथि प्रश्न गरेका छन् ।
त्यस्तै गरी समाजिक सञ्जालमा नै गोरखापत्रका पूर्व बोर्ड सदस्य दुर्गाप्रसाद भण्डारी लेख्छन् “कुनै दिन यौनकार्य पनि नसिकाउलान् भन्न सकिन्न । संस्कृतिको भद्दा मजाक हो यो । सानै उमेरमा प्रेमी र प्रेमिकाको प्रेमिल गीत बनाएर अभिनय गराउनु, विवाहलाई मजाक बनाउनु सामाजिक अपराध हुन् । कला भन्दैमा आफन्त बिचमा विवाह गराउनु उमेर नपुगेका बालबालिकाहरूको विवाह गराएर बालविवाहलाई प्रश्रय दिनु सरह हो ।”
त्यसैगरी महिला अधिकारकर्मी तथा लेखक सुशिला शर्मा “फेरि प्रजनन् शिक्षा पनि दिन बाँकी उमेरका वा दिन नमिल्ने उमेरका बालबालिकाको प्रयोग भएको छ । नाटकमा पनि यस्ता नाटक कि २० वर्ष पारिकाले गर्नुपथ्र्यो । विद्यालय उपयुक्त स्थान होइन । यस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ ।”
लेखक माधव सयपत्री भिडियोलाई शेयर गर्दै भन्छन्, “माडसापहरु, पागलै भइ सक्या हो कि के हो।”
त्यस्तै सामाजिक सञ्जालमा नारायण खत्री लेख्छन्, “यो विद्यालयले गर्न खोजेको चाहिँ र सिकाउन खोजेको चाहिँ के हो ? अहिले सामाजिक सञ्जालमा एउटा भिडियो खुब भाइरल छ । बुटवलको एउटा प्राइभेट विद्यालयको साँस्कृतिक कार्यक्रम भन्दै त्यहाँ एउटा बालकलाई बालिकासँग धुमधाम सबै रिति पुर्याएर बिहे गरेको देखाइएको छ । भलै त्यो नाटक नै सही, तर त्यस घटनाले देखाउन र सिकाउन खोजेको चाहिँ के हो ?”
अर्का सामाजिक सञ्जाल प्रयोग कर्ता लेख्छन्, “वास्तवमा अहिले भाइरल हुने रहर सबैलाई जागेको छ । अब व्यक्तिलाई मात्र हैन विद्यालयलाई पनि भाइरल हुने रहरले गाँजेको छ । भाइरल हुने रहरमा फोटो र भिडियोका लागि विद्यालय भित्रै ’अनेक’ हुन थाल्यो । बालबालिकालाई सँस्कृति सिकाउने नाममा घटस्थापनाको अघिल्लो दिन मै टिका लगाउने र जसले जसलाई नि भाइटिका र रक्षाबन्धन बाँध्न लगाउने त सामान्य नै भैसक्यो । अब हुँदाहुँदै ’नेपाली परम्परागत बिहे’ को नाममा विद्यालयमा बिहे नै हुन थाल्यो त्यो पनि धुमधामसँग नै ।”
“विद्यालय ज्ञानको थलो हो । विद्यालयमा सबै प्रकारका ज्ञानहरू दिइन्छ । धर्म, चाड, पर्व, संस्कृतिका परिभाषा र महत्व बुझाउनलाई यस्ता प्रयोगात्मक कार्यले नै ज्ञान कत्तिको दिन्छ त अलग कुरा हो तर विकृति भित्र्याएको कुरा सबै विद्यालयलाई अवगत छ तर उनीहरू यो मान्न तयार छँदै छैनन् । उनीहरूलाई त भाइरल हुने भूत सवार छ जसले गर्दा भाइरल हुने अनि भाइरलकै नाममा दुई चार जना विद्यार्थी थप्ने बाहेक तिनीहरूको अरू उद्देश्य पटक्कै देखिँदैन ।”
नारायण खत्री अगाडि थप्छन्, “अब विद्यालयले प्रयोगात्मक ज्ञान दिने नाममा ’हनिमुन’ नमनाइदेलान् भन्न सकिन्न । आखिर यौनशिक्षा जो सिकाउनु छ । होइन शिक्षकहरूलाई यस्तो ज्ञान कहाँबाट आउँदो हो ? विद्यार्थी बिग्रिए सबैथोक बिग्रन्छ । सम्बन्धित सबैले बेलैमा सोचौँ ।”
त्यस्तै महिला अधिकारकर्मी तथा सञ्चारकर्मी दिपा धिताल सामाजिक सञ्जालमा लेख्छिन् “शिक्षक शिक्षिकाहरुले गरेर देखाउनुपर्ने बिहे त, संस्कारै देखाएको हो भने बालबालिकालाई यस्तो हर्कत गराउाने बहुलाएछन् शिक्षकहरु । कार्बाही हुनुपर्छ यस्ता अपराधिहरुलाई ।”
त्यस्तैगरी सुदूरपश्चिमबाट महिला अधिकारकर्मी तथा लेखक कुश्मा भट्टले लेखेकी छन्, “वेदका मन्त्र र अग्निलाई साक्षी राखेर सातजुनिसम्म सँगै जिउने र सँगै मर्ने कसम खाएर शुभ मुहुर्तमा गरिने वैदिक सनातन धर्मको महत्वपूर्ण संस्कार मध्य संस्कार हो । विवाह, जसविना सृस्टि सञ्चालन र विस्तारको कल्पना पनि गरिदैन, त्यस्तो पवित्र संस्कारलाई विदेशी साम्राज्यवादीहरुको काट्टो खाएर यसरी गुरुकूल गुम्बामा पढ्नुपर्ने शिश्यहरुलाई यशुकुलमा रमिता देखाएर तिमिहरका मालिक त खुसी होलान् तिमीहरुको कूल थप भ्रष्ट हुने छ ।”
सामाजिक सञ्जालमा नै नमराज लामा लेख्छन्, “यो गम्भीर गैह्रजिम्मेवार र अस्वीकार्य व्यवहारको उदाहरण हो । सम्बन्धित विद्यालयका अविलम्ब कार्बाही गरियोस ।”
सामाजिक संजालमा नै राजेश कहर लेख्छन्, कस्तो अभ्यास हो ? संस्कृतिको नाममा बालबालिका बिबाह गराउने । यसबारे समाजमा कस्तो सन्देश जान्छ ? बरु शिक्षक शिक्षिकाले गरेर देखाए हुन्थ्यो नि । यो विद्यालयलाई बार्बाही हुनुपर्छ ।
विद्यालयले भने आफ्नो कार्यको बचाउ गरेको छ । विद्यालयका प्रअले यो हल्ला गर्नुपर्ने विषय नभएको र विद्यालयमा सांस्कृतिक कार्यक्रममा नमूनाका लागि यो विवाह गरेको जनाएका छन् । त्यसैगरी उता अविभावकका तर्फबाट बालिकाकी आमा अर्चना ढकालले आफूहरू मञ्जुर भएर नै विद्यालयले साँस्कृतिक कार्यक्रममा विवाह गरेको बताएकी छन । उनले आफू पनि मञ्जुर भएको र बालबालिका पनि खुसी छन् भने अरुको के टाउको दुखाइ नहुनुपर्ने बताइन । उनले कानुनी पाटोबारे त्यति गहिरो ढङगले नसोचेको जनाइन् ।
त्यसैगरी केटातर्फकी आमाले पनि बालबालिका खुसि छन् भन्ने ठानेर आफूहरूले स्वीकृति दिएर त्यो कार्य भएको बताइन । उनले पनि कानुनी पाटो नबुझेको बताइन । बालबालिकाका असली अभिभावकै विवाहस्थलमा सम्धि सम्धिनी भएर आवश्यक कार्यमा भाग लिएका थिए । यस विषयमा प्रश्न सोध्दा उनले, एकछिनका लागि कल्पना जस्तो मात्रै गरेर भएको बताइन ।
त्यसैगरी मिलन गाहा नामका एक व्यक्तिले विद्यालयको उक्त कदमको बचाउ गरेका छन् । उनले विद्यालयको बचाउ गर्दै लेखेका छन्, “रुपन्देहीको एक विद्यालय एभरेस्ट स्कूलमा कला संस्कृति रहन सहन र भेसभुसा जातजातिका बारेमा विद्यार्थीलाई सिकाउदा बिभिन्न सन्चार माध्यमले विद्यार्थीको बिहे गर्दियो भन्दै खुबै गरे भनेर लेख्दैछन् । मुलुक कहाँ पुगेको छ, देशको अवस्था के छ मुलुक कसरी जोगाउने भन्ने छैन । आफुलाई निकै गरे जस्तो लाग्ने केही सन्चारले प्रमुखताका साथ स्पेस दिएको र उखलपाटो लगाए भन्ने जस्ता काम देख्दा कुरि कुरि लाग्छ किन यस्ता कार्यक्रम गरियो दिन खोजेको शन्देश के थियो भन्ने कुरा पन्छाएर एकतर्फी रुपमा ब्याख्या गर्दा समस्या हुन्छ । सो स्कूलले यस्ता कुरामा किन समय खर्च गरेको होला भन्ने कुरा पनि हुन सक्ला मैले पनि विद्यालय सञ्चालकलाई सोधेको थिए । मात्र संस्कार सिकाउन खोजिएको भन्ने आयो । तर, सबैले बुज्न जरुरी छ । यदि म गलत बुझेको भए सरी है । बानी सकारात्मक छ ।”
मिलन गाहाको स्टाटसमा कमेन्ट गर्दै धेरैले उनको लेखनलाई आलोचना गरेका छन् । कमेन्टमा अधिवक्ता बिमल गिरीले लेखेका छन्, “उद्देश्य गलत त म भन्दै भन्दैन तर कतिपय कुरा गलत हुन जान्छ ।”
उनले थप लेखेका छन्, “ए सर कानुनी रुपमा बैबाहिक उमेर समूह पुगेका मानिस केटाकेटी थिएन र ? नभए कलाकार हायर गर्न नसक्ने स्कूल पनि त होइन नि । स्कूलमा विवाह कला संस्कृतिको नाटक मन्चन गर्न बच्चालाई किन ल्याइयो ? अर्को कुरा बिबाह सबै बच्चालाई स्कूलमा प्रोजेक्ट मार्फत पनि भिडियो स्केचमा मज्जाले देखाउन सकिन्छ नि । तर, ती बच्चालाई पछिसम्म दुलाहा दुलही बनाइ मानसपटलमा किन गहिरो छाप पारिदिएको ? साथी भाइले भोलिका दिन जिस्काउदा के भन्ने ? बरु उमेर पुगेकाबाट नाटक देखाउन सकिन्थ्यो ?”


