धनगढी । बाजुराको बडिमालिका नगरपालिकाले सामुदायिक विद्यालयहरूमा विदा व्यवस्थापनबारे देखिएको अन्योल हटाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग औपचारिक रूपमा नीतिगत स्पष्टता माग गरेको छ ।
संघीय सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक विदा लागू गरेपछि वार्षिक रूपमा आवश्यक पर्ने न्यूनतम २२० शैक्षिक दिन पूरा गर्न कठिनाइ उत्पन्न भएको भन्दै नगरपालिकाले हप्तामा एक दिन मात्रै विदा उपयुक्त हुने प्रस्ताव अघि सारेको हो ।
नगर प्रमुख अमर खड्काद्वारा मन्त्रालयका सचिवलाई सम्बोधन गरी पठाइएको पत्रमा दुई दिने विदा प्रणाली, चाडपर्व र प्रशासनिक बिदाहरूको प्रभावका कारण विद्यालयमा वास्तविक पठन–पाठनका दिन उल्लेखनीय रूपमा घटिरहेको उल्लेख गरिएको छ । यसले शिक्षण–सिकाइको गुणस्तर, विद्यार्थीको उपलब्धि तथा नियमित अध्ययन प्रक्रियामा प्रत्यक्ष नकारात्मक असर पारिरहेको नगरपालिकाको ठहर छ ।
शिक्षा नियमावली, २०५९ को नियम ८४ (५) ले एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय सञ्चालन हुनुपर्ने व्यवस्था गरेको भए पनि हालको विदा संरचनाले उक्त प्रावधान कार्यान्वयनमा व्यावहारिक चुनौती सिर्जना गरेको पत्रमा उल्लेख छ ।
नगरपालिकाले स्थानीय तहमा गरिएको छलफल र निर्णय प्रक्रियालाई आधार बनाउँदै यस्तो निष्कर्ष निकालेको जनाएको छ । नगर प्रमुखको अध्यक्षतामा सम्पन्न प्रधानाध्यापकहरूको परामर्श बैठक, शिक्षा समितिको सिफारिस तथा कार्यपालिका बैठकले स्थानीय भौगोलिक अवस्था, शैक्षिक परिवेश र सिकाइ वातावरणलाई मध्यनजर गर्दै विदा व्यवस्थामा पुनर्विचार अपरिहार्य रहेको औंल्याएका छन् ।
दुई दिने विदा कायम रहँदा देखिएका समस्याहरूमध्ये वार्षिक शैक्षिक दिन पूरा गर्न कठिन हुनु, पाठ्यक्रम समयमै नसकिनु, परीक्षा तयारी प्रभावित हुनु तथा विद्यालय सञ्चालनमा अनियमितता आउनु प्रमुख रहेको उल्लेख गरिएको छ । यसका साथै विद्यार्थीको अनुशासन र नियमिततामा समेत गिरावट आउने चिन्ता व्यक्त गरिएको छ ।
नगरपालिकाले लामो समय विद्यालय बन्द हुँदा सामुदायिक विद्यालयबाट निजी विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढ्ने जोखिम औंल्याएको छ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्यार्थीहरू घरायसी र कृषि कार्यमा बढी संलग्न भई अध्ययनमा पछाडि पर्ने अवस्था सिर्जना हुने पनि बताइएको छ । त्यस्तै, स्थानीय सन्दर्भमा यातायात, ऊर्जा तथा प्रशासनिक जटिलता न्यून रहेको अवस्थामा दुई दिने विदाको औचित्य कमजोर देखिएको निष्कर्ष समेत प्रस्तुत गरिएको छ ।
यी सबै आधारहरूलाई ध्यानमा राख्दै नगर प्रमुख खड्काले स्थानीय तहमा अभ्यास हुँदै आएको मोडलअनुसार शनिबार मात्र विदा दिने व्यवस्था शैक्षिक रूपमा बढी व्यवहारिक र प्रभावकारी हुने धारणा व्यक्त गरेका छन् ।
नगरपालिकाले मन्त्रालयसँग तत्काल नीतिगत स्पष्टता प्रदान गर्न, आवश्यक परिमार्जन गर्न वा स्थानीय तहअनुसार लचिलो कार्यान्वयनका लागि निर्देशिका जारी गर्न आग्रह गरेको छ ।


