EduPress
'

देउराली मावि बन्यो मधेसको पहिलो डिजिटल विद्यालय

Author Image
बुधवार, असोज १५, २०८२
Text Size:

महोत्तरी । बर्दिबास नगरपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयलाई महोत्तरीकै पहिलो ‘डिजिटल विद्यालय’ घोषणा गरिएको छ । आइतबार एक विशेष समारोहका बीच बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले विद्यालयलाई औपचारिक रूपमा डिजिटल विद्यालयका रूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख क्षत्रीले यो पहल मधेसका सामुदायिक विद्यालयहरूका लागि प्रेरणादायी कदम हुने बताए । उनले भने, “मधेसमा सामुदायिक विद्यालयको शिक्षाको स्तरबारे प्रश्न उठाइने गरेको छ, तर देउराली माविको यो उपलब्धिले त्यस धारणा परिवर्तन गर्नेछ।”

कार्यक्रममा नगरप्रमुख क्षत्रीले विद्यालयका सबै कक्षाकोठामा जडान गरिएको डिजिटल बोर्डको पनि उद्घाटन गरे । विद्यालयले बाल कक्षादेखि कक्षा १२ सम्मका १ हजार २०० विद्यार्थीलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने योजना अघि सारेको छ ।

त्यससँगै विद्यालयले सिभिल इञ्जिनियरिङ, सर्वे (नापी) इञ्जिनियरिङ र वनविज्ञान विषयमा सिटिइभिटी (CTEVT) सम्बन्धन प्राप्त डिप्लोमा तहका २०० विद्यार्थीहरूलाई पनि डिजिटल प्रणालीबाट पढाइ सुरु गर्ने जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक कुमार घिमिरेका अनुसार अब सबै विषयको पठनपाठन डिजिटल बोर्डमार्फत हुने छ । “शिक्षकहरूले प्रविधिमैत्री शिक्षण पद्धतिबाट पढाउनेछन्,” उनले बताए, “विद्यार्थीहरूले छुटेका पाठ पछि पुनः हेरेर बुझ्न सक्ने सुविधा पनि हुनेछ।”

विद्यालयमा हाल स्थायी, अस्थायी, राहत, बालविकास तथा नगर शिक्षक गरी २६ जना शिक्षक कार्यरत छन् । विद्यार्थी संख्या बढ्दै गए पनि माध्यमिक तहका शिक्षक संख्या दुई जनामात्र रहेको प्रधानाध्यापक घिमिरेले बताए ।

Views: 10

प्रतिक्रिया

सम्बन्धित खबर