तनहुँ । तनहुँको व्यास नगरपालिका–१, भादगाउँ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा नयाँ प्रशासनिक भवन निर्माण कार्य सुरु हुने भएको छ।
विश्वविद्यालय अनुदान आयोग (यूजीसी) सानोठिमी, भक्तपुरले एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ भने क्याम्पसले १२ लाख ५६ हजार ९७० रुपैयाँ लागत सहभागिता गर्नेछ। यसरी कुल लागत एक करोड १२ लाख ५६ हजार ९७० रुपैयाँमा भवन निर्माण कार्य सम्पन्न गरिने योजना रहेको क्याम्पसले जनाएको छ।
भवन निर्माण सम्बन्धी सम्झौता बिहीबार क्याम्पस परिसरमा सम्पन्न भयो। सम्झौतामा क्याम्पसका तर्फबाट प्रमुख महाप्रसाद हडखले र निर्माण कम्पनी पञ्च–शिभु जेभी, भक्तपुरका निर्देशक सन्तुलन देशमरूले हस्ताक्षर गरे। सम्झौता कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार र बोलपत्र मूल्याङ्कन समितिका संयोजक क्याप्टेन सोमबहादुर थापाको पनि उपस्थिती थियो।
क्याम्पस प्रशासनका अनुसार भवन निर्माण कार्य निर्धारित अवधिभित्र सम्पन्न गर्ने तयारी भइरहेको छ। प्रशासनिक भवन निर्माणले क्याम्पसको शैक्षिक तथा व्यवस्थापकीय सेवामा सहजता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।


