सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा शिक्षक सरुवा, दरबन्दी मिलान र प्रअ व्यवस्थापनको विषयलाई लिएर तालाबन्दी भएको छ । वीरेन्द्रनगरको श्री कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा प्रधानाध्यापक व्यवस्थापनमा समस्या देखिएपछि यस्तो परिस्थिति उत्पन्न भएको हो ।
वीरेन्द्रनगर नगरपालिकाको शिक्षा शाखाका अनुसार श्रीकृष्ण संस्कृत तथा साधारण माविमा माध्यमिक प्रथम तहको शिक्षकलाई प्रधानाध्यापकमा पठाइएको थियो । तर, त्यहाँको व्यवस्थापन समितिले त्यसलाई अस्वीकार गर्यो । व्यवस्थापन समितिको विरोध भएपछि पठाइएका मावि प्रथम तहका शिक्षकलाई अर्को विद्यालयमा व्यवस्थापन गरी शिक्षा शाखाले सोही विद्यालयका शिक्षकलाई प्रधानाध्यापक तोक्यो । तर, व्यवस्थापन समितिले त्यो निर्णयमा पनि चित्त बुझाएन । त्यसपछि स्थिति बिग्रेर नगरपालिकामा तालाबन्दी गरिएको बताइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.डम्बर खड्कालाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उक्त विद्यालयका अविभावक संघका अध्यक्ष बखत बहादुर शाहीले राजनीतिक कारणले यस्तो अवस्था आएको बताए । उनले यसअघि सत्ता साझेदारमा रहेका दलहरु नेकपा एमाले र नेपाली कांग्रेसबीच यसले दरार ल्याउन सक्नेसम्मको स्थिति बन्न गएको बताए । साथै यसबाट कर्णाली प्रदेश सरकारको सहकार्यमा समेत समस्या आउन सक्ने आँकलन पनि उनले गरे ।
वीरेन्द्रनगर नगरपालिकाले कार्तिक १२ गते जारी गरेको परिपत्रमा उल्लेख गरिएको छः “यस नगरपालिकाको नगर शिक्षा समितिको मिति २०८२।०६।२७ को निर्णय र बिरेन्द्रनगर कार्यपालिकाको मिति २०८२।०७।१२ गतेको संसोधन सहितको अनुमोदन अनुसार देहाय बमोजिम सामुदायिक विद्यालयहरुमा प्रधानाध्यापक व्यवस्थापन, सरुवा दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालयको समायोजन गरिएको व्यहोरा यसै सूचना मार्फत् सम्पूर्णमा जानकारी गराइन्छ ।”
वीरेन्द्रनगरका ६० सामुदायिक विद्यालयमा २५ माध्यमिक विद्यालय रहेका छन् । त्यसमध्ये अधिकांश विद्यालयमा प्रअ व्यवस्थापन भएकाे जनाइएकाे छ । कसैमा राहतले पनि चलाएका छन् भने कतै दरबन्दि मिलान गरिएकाे छ । यसै क्रममा वीरेन्द्नगरमा रहेकाे श्रीकृष्ण संस्कृतमा समस्या आएकाे हाे ।



