काठमाडौँ । नक्कली परीक्षार्थी खडा गरी एउटै विद्यार्थीलाई फरक–फरक विद्यालयबाट परीक्षा दिलाउने काण्डमा मुछिएका काठमाडौंका दुई विद्यालय गोप्य रूपमा मर्ज (गाभिने) भएका छन्। ती विद्यालय काठमाडौं महानगरपालिकाकै मिलेमतोमा कानुनी प्रक्रिया नपु¥याई चुपचाप एकआपसमा गाभिएका हुन्।
धेरै विवादबीच काठमाडौँको धुम्बाराहीस्थित प्रोलिफिक मावि र साइपाल एकेडेमीले गैरकानुनी रूपमा मर्जको बाटो अपनाएका हुन्। हाल कक्षा ११ र १२ को पढाइ साइपाल एकेडेमीमा चलाइँदैछ भने कक्षा १ देखि १० सम्मको अध्यापन प्रोलिफिक माविको भवनमै भइरहेको छ। कानुनी प्रक्रिया पूरा नगरी विद्यालय मर्ज गरिएपछि यसबारे शिक्षा मन्त्रालयमा उजुरी परेको छ। मन्त्रालयले त्यस उजुरीका आधारमा काठमाडौं महानगरलाई पत्राचार गरेको पनि पुष्टि भएको छ।
तर, शिक्षा मन्त्रालयले महानगरलाई पठाएको पत्र महानगरको फाइलबाट गायब पारिएको बताइन्छ। यस विषयमा महानगर शिक्षा विभागका विद्यालय अनुगमन अधिकृत तथा वडा नम्बर ४ का विद्यालय निरीक्षक नेत्रनारायण पौडेलको भूमिकामाथि समेत प्रश्न उठेको छ।

३६ विद्यार्थीको फाराम साइपालबाटै
मर्जपछि शैक्षिक सत्र २०८२ का लागि प्रोलिफिक माविका २३ र साइपाल एकेडेमीका १३ गरी कुल ३६ विद्यार्थीको एसईई रजिस्ट्रेशन फाराम साइपाल एकेडेमी (कोड नं. २९७६०) बाट भरिएको छ। पठन–पाठन प्रोलिफिकमा भए पनि फाराम साइपालबाट दर्ता गरिनु प्रश्नको विषय बनेको छ। एडु प्रेसलाई ती ३६ विद्यार्थीको नाम र अन्य विवरण प्राप्त भएको छ।
एक विद्यालयबाट अर्को विद्यालयमा विद्यार्थीको रजिस्ट्रेशन सार्दा कुनै पनि नियामक निकायबाट अनुमति लिइएको प्रमाण भेटिएको छैन। नियामक स्वीकृति बिना नै प्रोलिफिकका विद्यार्थी साइपालमार्फत दर्ता गरिनु ‘नियमविपरीत’ भएको सरोकारवालाको भनाइ छ। यस विषयमा सोध्दा महानगरका शिक्षा अधिकृतहरूले गोलमटोल उत्तर दिएका छन्। उनीहरूले विद्यालयले आफैं एकअर्कासँग ट्रान्सफर गर्न सक्ने भनेर जिम्मेवारी टार्ने गरेको आरोप छ।
कम्पनी रजिष्टार र शिक्षा शाखामा निवेदन छैन
कम्पनी ऐनअनुसार दुई कम्पनी गाभिँदा रजिष्टारको कार्यालयमा निवेदन दिनु, एक कम्पनीको दायित्व अर्कोमा सार्नु र खारेज हुने कम्पनीको दर्ता रद्द हुनुपर्ने व्यवस्था छ। तर, प्रोलिफिक र साइपालले यस्तो कानुनी प्रक्रिया नपु¥याई विद्यालयहरू गाभेको देखिन्छ।
त्यसैगरी, विद्यालय मर्ज गर्न चाहने संस्थाले नगरपालिकाको शिक्षा शाखामा पुस महिनाभित्र निवेदन दिनुपर्ने व्यवस्था छ । तर, काठमाडौं महानगरको शिक्षा शाखामा यस्तो कुनै निवेदन परेको छैन।
कागजी रूपमा दुबै विद्यालयको पृथक कानुनी अस्तित्व कायम छ, तर व्यावहारिक रूपमा साइपालमार्फत विद्यार्थीको परीक्षा फाराम दर्ता गरिएको फेला परेको छ।
इएमआइएस सार्दा पनि अनुमति छैन
एक विद्यालयबाट अर्कोमा विद्यार्थी सार्दा इएमआइएस (शैक्षिक विवरण प्रणाली) पनि सर्नु पर्ने हुन्छ। त्यसका लागि स्थानीय तहको अनुमति अनिवार्य छ। तर, अनुमति बिना नै इएमआइएस स्थानान्तरण गरिएको आरोप छ। यसबारे गहिरो छानबिन गर्नुपर्ने माग बढ्दो छ।
काठमाडौं इएमआइएस शाखाका अधिकृत ओम गौतमका अनुसार शैक्षिक सत्र २०८२ मा प्रोलिफिक माविले इएमआइएस दर्ता नगरेको र सबै विद्यार्थी साइपालमा सारिएको देखिएको छ। यसबाट पठन–पाठन प्रोलिफिकमै भए पनि विद्यार्थीको औपचारिक अभिलेख साइपालमा सारिएको पुष्टि हुन्छ।
यता, विद्यालय ट्रान्सफर हेर्ने महानगरकी अधिकृत रुक्मिला इटनीले साइपालले हालसम्म इएमआइएस नलिएको र पछि लिन सक्ने बताइन्।
दुई लोगोको प्रयोग र कानुनविपरीत काम
हाल धुम्बाराहीस्थित पूर्व–प्रोलिफिक माविको भवनमा ‘साइपाल एकेडेमी ब्लक (१–१०)’ भनेर लेखिएको छ। विद्यालयले अभिभावकहरूलाई पठाउने पत्रहरूमा साइपाल एकेडेमी र प्रोलिफिक मावि दुवैका लोगो प्रयोग गर्ने गरेको छ। यस्तै, २०८२ को पकेट क्यालेन्डरमा पनि दुबै लोगो राखिएको छ।
औपचारिक रूपमा कानुनी प्रक्रिया पूरा नगरी, आफ्नै तालमा विद्यालय मर्ज गर्नु र कहिले एक नाम, कहिले अर्को नामबाट सञ्चालन गर्नु पूर्ण रूपमा कानुनविपरीत कार्य भएको सरोकारवालाको भनाइ छ।


