काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण हेर्नका लागि कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जाने दर्शकबाट पार्किङ शुल्क वापत जवरजस्ती रकम असुल गरेको पाइएको छ । त्रिभुवन विश्वविद्यालयको हाताभित्र अनुमति नै नलिई पार्किङ शुल्क लगिएको भन्दै त्यसको व्यापक विरोध भएको छ । कीर्तिपुर विकास समाजका नाममा लिग हेर्न जाने दर्शकबाट मोटरसाइकलको एक सय रुपैयाँ र गाडीको एक सय पचास रुपैयाँ उठाइएको छ ।
एनपिएलको आयोजक क्रिकेट संघ नेपाल (क्यान)ले दर्शकका लागि त्रिविको जग्गा, सार्वजनिक स्थल र सडक आसपास निःशुल्क पार्किङको व्यवस्था गरिएको बताए पनि अनधिकृत रुपमा कीर्तिपुर विकास समाज नामबाट रकम उठाउन थालिएपछि यसको चौतर्फी विरोध भएको छ । त्रिविका रेक्टर खडक केसीले त्रिवि जस्तो एकेडेमिक र स्वायत्त संस्थाको हातामा पुगेर यस्तो जवरजस्ती अवैध गतिविधि गर्नु आपत्तीजनक रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा यस कार्यको विरोध गर्दै लेखेका छन्, “त्रिभुवन विश्वविद्यालय भित्र के भइरहेको छ ? म यस्तो अव्यवस्थापन र अवैध रुपमा जबरजस्ती असुली गर्ने कार्यको विरोध गर्दछु । कुनै पनि स्थानीय, संघीय सरकार वा व्यक्तिले स्वायत्त र एकेडेमिक संस्था भित्र अवैधानिक गतिविधिहरू गर्न पाइदैन । यो सहन गर्न सकिदैन । यो अति नै भयो ।”
त्यसैगरी त्रिवि कल्याण कोषका प्रमुख प्रमुख डा. दीपेन्द्र पराजुलीले त्रिवि स्वायत्त निकाय भएकाले त्रिविमा कसैको हस्तक्षेप नचल्ने बताए । उनले भने, “यसरी कसैले पनि जबरजस्त त्रिवि परिसरमा भाडा उठाउन पाउँदैन । यो गलत हो ।”
त्यस्तै त्रिभुवन विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दीपराज जोशी त्रिवि परिसरमा कुनै निकायको हस्तक्षेप स्वीकार्य नहुने बताउँछन् । उनी भन्छन्, “त्रिवि स्वायत्त निकाय हो । यसरी मनलाग्दी रकम उठाउनु अवैध हो । याे कदापी स्वीकार्य हुँदैन ।”
शुल्क उठाउन ठूलो संख्यामा परिचालन गरिएका मानिसहरुले यसको विरोध गर्ने दर्शकसँग हुलदंगा गर्ने र धम्की दिने समेत गरेका छन् । शुल्कको विरोध गर्ने दर्शकलाई कुटौला झै गरी शुल्क उठाउनेहरु प्रस्तुत हुने गरेका छन् । मिडियाकर्मीहरुसँग पनि शुल्क उठाउनेहरु हुलदंगा शैलीमा प्रस्तुत हुने गरेका छन् । शुल्क उठाउने युवाहरु आफूहरुलाई कीर्तिपुर नगरपालिकाले जिम्मेवारी दिएर शुल्क उठाएको बताउने गरेका छन् । तर, यसबारे कीर्तिपुर नगरपालिकाले कुनै औपचारिक चिठी दिएको वा अनुमति दिएको देखिदैन ।
शुल्क उठाउन उनीहरुले ‘कीर्तिपुर विकास समाज कीर्तिपुर– ११ काठमाडौं’ लेखेको रसिद प्रयोग गर्ने गरेका छन् । कीर्तिपुर विकास समाजका नाममा उठाइएको भए पनि यो संस्थाको वैधानिकता केही पनि थाहा छैन । यसबारेमा शुल्क उठाउनेहरु केही पनि बताउन सक्दैनन । शुल्क उठाउन प्रयाेग गरिएकाे रसिदमा ‘संकलित रकम भदौ २३ र २४ को प्रदर्शनमा क्षति भएका सार्वजनिक संरचनाहरू मर्मत तथा पुनर्निर्माण कार्यमा खर्च गरिनेछ । तर सवारीसाधनको सुरक्षाको जिम्मेवारी सवारी धनी स्वयंको हुनेछ,’ भनेर लेखिएको छ । जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचनाहरु मर्मत तथा पुनर्निर्माणमा खर्च गरिनेछ भनेर भनिए पनि त्यसको कुनै लेखाजोखा निर्णय छैन ।

त्रिविको जग्गामा शुल्क उठाउन त्रिविको अनुमति लिनुपर्नेमा शुल्क उठाउनेहरुले भने कीर्तिपुर नगरपालिकाले अनुमति दिएको बताउने गरेका छन् । यसबारेमा बुझ्दा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल यसबारे कुराकानी भएको तर युवाहरुले आफै शुल्क उठाएको हुनसक्ने बताउँछन् । उनले युवाहरुले शुल्क उठाएर आन्दोलनमा जलेको वडा कार्यालय भवन बनाउँछु भनेको तर औपचारिक निर्णय नभएको र अनुमति नदिइएको बताउँछन् । मेयर डंगोल आफू बाहिर भएकोले यसबारे धेरै थाहा नै नभएको बताउँछन् ।
त्रिविको हाता प्रयोग गरी अवैध रुपमा शुल्क उठाइएको भन्दै त्रिविका प्राध्यापक, कर्मचारी र विद्यार्थीले समेत असन्तुष्टि जनाएका छन् । एनपीएलको सुरक्षाका लागि खटिएको नेपाल प्रहरीलाई पनि कुनै जानकारी नभएको बुझिएको छ । यसबारेमा बुझ्दा काठमाडौं प्रहरीका प्रवक्ता पवनकुमार भट्टराई पार्किङ शुल्क उठाइएको बारे व्यापक गुनासो आएको र बुझ्ने काम भइरहेको बताए । उनले यदि अनुमति नलिई अनधिकृत रूपमा उठाइएको रहेछ भने कारवाही हुने पनि बताए ।
यता त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्यालले पनि पार्किङ शुल्कका विषयमा आफूहरुलाई कुनै जानकारी नभएको बताए । उनले कीर्तिपुर नगरपालिका र नेपाल क्रिकेट संघसँग कुनै कुराकानी नै नभएको बताएका छन् ।
यसअघि त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय, त्रिवि क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन र नेपाल क्रिकेट संघबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा त्रिविको मुख्य गेटदेखि आँखा अस्पतालसम्मको भित्री बाटोमा कुनै पनि सवारी साधन पार्किङ गर्न नगरिने उल्लेख छ । साथै सम्झौतामा एनपीएलको आयोजक क्यानले पार्किङको व्यवस्थापन अन्यत्रै गरिने उल्लेख छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले त्रिभुवन विश्वविद्यालयसँग २०५९ मा सम्झौता गरेर त्रिवि क्रिकेट मैदान प्रयोग गर्दै आएको छ । उक्त सम्झौता २०८३ वैशाख मसान्तसम्म मात्रै बाँकी छ । क्यानले मैदान भाडामा लिए पनि त्यसमा पूर्वाधार निर्माणलगायतका काममा सरकारले पनि सघाउँदै आएको छ । क्यानले जग्गा भाडाबापत वार्षिक ६ लाख, छात्रवृत्तिका लागि २ लाख र त्रिवि खेलकुदका लागि १ लाख गरी प्रति वर्ष ९ लाख रुपैयाँ त्रिभुवन विश्वविद्यालयलाई चुक्ता गर्ने गरेको छ । त्यसका साथै सोमवार गरिएको सम्झौतामा एनपीएलको दोस्रो सिजनका क्रममा हुने नाफाबाट त्रिवि विद्यार्थी कल्याण र केन्द्रीय क्याम्पस स्ववियुलाई २५ लाख रकम दिने सहमति पनि क्यानले गरेको छ ।


