- जगत वाशिष्ठ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्रिकेट मैदानमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) का कारण विश्वविद्यालयको पठनपाठनमा असर परेको छ ।
एनपीएललाई कमाउ धन्दा बनाउन लागेकाहरुले यस क्षेत्रमा विभिन्न गतिविधि गर्न सुरु गरेका छन् । तर, यसतर्फ सम्बन्धित निकायको ध्यान नगएको भन्दै विरोध सुरु भएको छ ।
एनपीएलका कारण आयोजकले त्रिविको मुख्य गेटभित्र जान रोकेपछि यसको मारमा त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी र अध्यापन गर्ने लेक्चर प्राध्यापकहरु परेका छन् । एनपीएलको आयोजक नेपाल क्रिकेट संघ (क्यान) र त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय र त्रिवि स्ववियुका बीच सहमति भए अनुसार मंगलवारदेखि त्रिविको मुख्य गेटदेखि आँखा अस्पतालसम्मको बाटोमा कडा चेकिङ गरिएको छ । त्यस क्षेत्रमा कसैलाई पनि पार्किङ गर्न नदिन प्रवेशमा रोक लगाइएको छ । तर, त्रिविमा अध्ययन गर्ने विद्यार्थी र लेक्चर प्राध्यापकहरुले समेत प्रवेश नपाएपछि समस्या सिर्जना भएको छ ।
त्रिविमा अध्ययनरत विद्यार्थी र लेक्चर प्राध्यापकहरुलाई परिचय पत्र देखाउँदा पनि त्रिविमा प्रवेश गर्न नदिइएपछि यसको विरोध भएको छ । प्रवेश नदिइएका कारण धेरै लेक्चर प्राध्यापकले मंगलबार विदा लिनुपरेको गुनासो पनि गरेका छन् । यतिसम्म कि त्रिवि व्यवस्थापन संकायका डिनलाई समेत त्रिवि परिसरभित्र छिर्न नदिइएको स्रोतले बताएको छ ।
त्यसैगरी त्रिविमा अध्यापन गर्ने प्राध्यापक बिनिल अर्याल मंगलबार यसैको मारमा परे । उनी त्रिविको मुख्य गेटमा सदाझै पुगेका थिए । उनलाई सुरक्षाकर्मीले रोके । उनले सुरक्षाकर्मीलाई आफ्नो परिचय पत्र देखाए । तर, सुरक्षाकर्मीले यो परिचय पत्रले नहुने, भित्र प्रवेश गर्न विशेष पास चाहिने बताए । त्यसपछि उनी त्यही गेटबाट घर फर्के । उनले मंगलबार विदा लिन बाध्य हुनुपरेको बताएका छन् । उनले घर पुगेपछि सामाजिक सञ्जालमा लेखेका छन्, “म एक प्राध्यापक । आफ्नो विभागसम्म पुग्न सकिन । मेरो आइडीले काम गरेन । प्रहरीको बोली अररो थियो । आज विदा लिनुपर्ने भयो । पदाधिकारी मात्र गएर विश्वविद्यालय चल्छ कि के हो ? कि शिक्षक पनि पुग्नुपर्छ ? व्यवस्था खोइ ?”
त्यस्तै अर्का अध्यापक महेन्द्र चालिसेले पनि त्यस्तै गुनासो गरेका छन् । उनले कडा प्रश्न गर्दै लेखेका छन्, “मैले पनि त्यस्तै समस्या झेले । यो एकेडेमिक विश्वविद्यालय हो कि क्रिकेट विश्वविद्यालय हो ? म आश्चर्य चकित भएको छु ।”
यसैबीच त्रिवि परिसरमा अनुमति नै नलिई केही मानिसहरुले त्रिविको एक जग्गालाई उपयोग गरी पार्किङ शुल्क उठाएपछि त्यसको पनि व्यापक विरोध भएको छ । कीर्तिपुर विकास समाजका नाममा एक समूहले चर्को शुल्क उठाएको छ । उनीहरुले कीर्तिपुर विकास समाजको रसिद बनाइ त्यस क्षेत्रमा पार्किङ गरेवापत प्रति मोटरसाइकल एक सय रुपैयाँ र प्रति गाडी एक सय पचास रुपैयाँ असुल गरिरहेका छन् । उनीहरुले यसरी शुल्क उठाउन न त त्रिभुवन विश्वविद्यालयबाट अनुमति लिएका छन्, न त नेपाल क्रिकेट संघ (क्यान)बाट । उनीहरुले अनौपचारिक रुपमा केही पदाधिकारीहरुलाई मौखिक कुराकानी गरेका भरमा यसरी अवैध तरिकाले पैसा उठाएको बुझिएको छ ।
एकातिर यसरी मनपरि चन्दाको धन्दा सुरु भइरहँदा एनपीएलको आयोजक संस्था नेपाल क्रिकेट संघ (क्यान)ले त्रिविका विद्यार्थीहरुको समस्यातर्फ भने कुनै ध्यान दिएको देखिदैन । सोमवार गरिएको एक सम्झौतामा त्रिवि परिसरभित्र रहेको महिला छात्रावासको सुरक्षाका लागि काँडेतार लगाउने भनिए पनि अहिलेसम्म लगाइएको छैन । त्यस्तै त्रिविमा अध्ययन अध्यापनमा सम्लग्न विद्यार्थी तथा प्राध्यापकहरुको पठनपाठनमा असर नपुर्याउने गरी व्यवस्था गरिएको छैन ।
यसखालको अव्यवस्था र मनपरि गतिविधि गरिएका कारण देशको गौरवका रुपमा मानिएको खेलकुद प्रतियोगिता नै विवादमा पर्न सक्ने देखिएको छ ।


