ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकाले अप्ठ्याराे परेका विद्यार्थीका लागि विद्यालयमै खाने बस्ने सुविधा उपलब्ध गराउने घोषणा गरेको छ। हालका लागि गाउँपालिकाले विद्यालय आउजाउमा कठिनाई भोगिरहेका विद्यार्थीका लागि याे सुविधा दिने घाेषणा गरेकाे हाे । पालिकाले वैकल्पिक व्यवस्था नभएसम्म पालिकाकै तर्फबाट खानेबस्ने सुविधा दिने जनाएकाे छ ।
गाउँपालिकाकाे एक सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिका अध्यक्ष मानबहादुर राईले टाढाबाट दैनिक आवतजावत गर्न बाध्य विद्यार्थीलाई तात्कालिक रूपमा आवास–खानेबस्ने सुविधा व्यवस्थापन गरिने बताए। उनले यसले बालबालिकाकाे पढ्न पाउने अधिकारकाे रक्षा हुने र पालिका स्थानीय जनताकाे अभिभावक हुने दायित्व पनि पूरा हुने बताए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले विद्यालयका प्रधानाध्यापक मोहनचन्द्र साँवालाई कठिनाइ भएका विद्यार्थीको सूची तयार गरी पालिकामा पेश गर्न निर्देशन दिए। यसलाइ तत्काल लागु गरिने उनकाे भनाइ थियाे ।
विद्यार्थीको जिज्ञासापछि अध्यक्ष राई र उपाध्यक्ष कृष्णकुमारी कडरियाबीच कार्यक्रम स्थलमै छलफल भएकाे र साेही छलफलबाट निर्णय गरी सो व्यवस्था मिलाउने सहमति भएको जानकारी गराइएकाे थियाे ।
वडा नं. ६, मेहेलेस्थित निलगिरी माध्यमिक विद्यालयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भएका विद्यार्थी जेनी राई र सुबास कटुवालले आफूहरूकाे समस्या राखेका थिए । त्यसपछि अध्यक्ष राईले दीर्घकालीन समाधानका रूपमा छात्रावास निर्माण प्रक्रिया अघि बढाइने बताए। स्मार्ट बोर्ड सञ्चालन रोकिएको विद्युत समस्यालाई पालिकाले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै वैकल्पिक ऊर्जा प्रणाली मर्मत गरेर समस्या समाधान गर्ने प्रतिबद्धता पनि पालिकाले जनाएको छ।
सार्वजनिक सुनुवाइमा स्थानीयले केन्द्रीय प्रसारण लाइन, खानेपानी, विद्यालय सुधार लगायतका मुद्दामा प्रश्न उठाएका थिए। मेहेलेका वडाध्यक्ष रत्नकुमार लिङदेनले खानेपानी समस्यामा पहल गरे पनि समाधान हुन नसकेको बताउँदै उपभोक्ताको सहकार्य आवश्यक हुने धारणा राखे।
पालिका अध्यक्ष राईले खानेपानी तथा सिंचाइका लागि विशेष योजना बनाइने जानकारी दिँदै पाइप उपलब्ध भएपछि मर्मत तथा बिछ्याइका काममा उपभोक्ताको सक्रियता अपेक्षित रहेको बताए। उपाध्यक्ष कडरियाले सार्वजनिक सुनुवाइ नागरिकका गुनासाे–सुझाव सम्बोधन गर्ने माध्यम भएको भन्दै पालिका जनताप्रति उत्तरदायी रहेको बताइन्।


