EduPress
'

३८ वर्ष एउटै विद्यालयमा सेवा गर्ने शिक्षकलाई हेलिकोप्टर चढाएर विदाइ, सिंगो गाउँ भावुक

Author Image
बुधवार, मंसिर २४, २०८२
Text Size:

गोरखा । गोरखाको एक सरकारी स्कूलमा ३८ वर्ष पढाएर बिदा लिएका शिक्षक इन्द्र उपरकोटीलाई हेलिकप्टरमा चढाएर घर पठाइएको छ । शिक्षक इन्द्र उपरकोटीलाई स्थानीयहरूले अभूतपूर्व शैलीमा बिदाइ गरेका हुन्।

उत्तरी गोरखाको धार्चे–२, रुञ्चेतमा रहेकाे गण्डकी माध्यमिक विद्यालयका संस्थापक शिक्षक तथा पूर्वप्रधानाध्यापक उपरकोटीलाई मंगलबार गाउँबाट हेलिकप्टरमा चढाएर विदाइ गर्दा भावुक दृष्य देखियाे । उनकाे विदाइकाे लागि हेलिकाेप्टरकाे व्यवस्था गर्न १०० जना भन्दा धेरै विद्यार्थी र पूर्व विद्यार्थीले पैसा संकलन गरेकाे बताइएकाे छ । पैसा संकलन गरेर हेलिकप्टर बुकिङ गरेर पठाउन थालिएपछि शिक्षक उपरकाेटी निकै भावुक भए । उनले भने, मैले कतै नसोचेको, कतै नसुनेको, कतै नदेखेको सम्मान पाएँ, एकदमै खुसी छु ।

उपरकोटीले २०४५ साल फागुन १९ गते प्राथमिक तहका शिक्षकका रूपमा उक्त विद्यालयमा आफ्नो सेवा यात्रा सुरु गरेका थिए। उनकाे नेतृत्व, समर्पण र पहलका कारण विद्यालय क्रमशः निम्न माध्यमिक हुँदै दुई वर्षअघि मात्रै माध्यमिक तहमा स्तरोन्नति भएकाे थियाे। विद्यालयले पहिलोपटक एसईई परीक्षामा सहभागी भएको वर्षमै धार्चे गाउँपालिकाभित्र उत्कृष्ट नतिजा ल्याएको थियाे । याे सफलतामा शिक्षक उपरकाेटीकाे भूमिका रहेकाे अभिभावक र विद्यार्थी बताउँछन् ।

साेही वडाका अध्यक्ष सरोज गुरुङका अनुसार ३८ वर्षको निरन्तर योगदानलाई सम्मान गर्न पूर्वविद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयबासिन्दाले एक–एक हजारदेखि दुई–दुई हजार रुपैयाँसम्म सहयोग संकलन गरेका थिए। सोही रकमबाट उपरकोटीको हेलिकप्टर र जहाज यात्रा व्यवस्था गरिएको हो।

धार्चेजस्तो दुर्गम भूगोलमा दशकौँ बिताएर सेवा गरेका उपरकोटीलाई गाउँबाट हेलिकप्टरमार्फत काठमाडौँ र त्यहाँबाट जहाजमार्फत भरतपुर चितवनसम्म पुग्ने व्यवस्था गरिएको वडा अध्यक्ष गुरुङले जानकारी दिए।

बिदाइ कार्यक्रममा धार्चे गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापक, आसपासका शिक्षक, स्थानीय बासिन्दा र पूर्वविद्यार्थीको उल्लेख्य सहभागिता रहेकाे थियो। शिक्षक उपरकाेटीकाे विदाइ समाराेहमा सहभागी विद्यार्थी र गाउँलेहरू सबै भावुक बनेकाे थियाे ।

यसैबीच धार्चे गाउँपालिकाका उपाध्यक्ष सुनिला गुरुङले उपरकोटीको योगदानलाई ‘ऐतिहासिक र अविस्मरणीय’ बताउँदै भनिन्, “हिजो भुइँका मान्छेलाई आकाश हेर्न सिकाउने गुरु, आज आफ्नै विद्यार्थीहरूले आकाशमै उडाएर बिदाइ गरे। यो दृश्यले हामी सबैलाई गर्वसँगै भावुक बनायो।”

उपाध्यक्ष गुरूङले विद्यालय स्थापना, शैक्षिक उत्थान, व्यवस्थापन, विद्यार्थीको भविष्य निर्माणदेखि समुदाय सशक्तीकरणसम्म उपरकोटीको योगदान अमिट रहेकाे बताए ।

उनले अप्रत्याशित सम्मान पाएर भावुक बनेका उपरकोटीले आफूले आफ्नो कर्तव्य मात्र पूरा गरेको बताए । “मैले यस्तो सम्मान पाउँला भनेर कहिल्यै कल्पना गरेको थिइनँ। गाउँलेहरूको माया र भरोसा थाहा पाएँ,” उनले भने।

गुरुङ र विश्वकर्मा समुदायको बसोबास रहेको रुञ्चेतमा शिक्षा अत्यन्त चुनौतीपूर्ण अवस्थाबाट अघि बढ्दै गर्दा विद्यालय स्थापना र विकासमा उपरकोटीको भूमिका निर्णायक रहेको स्थानीयहरू बताउँछन्। धार्चेको शैक्षिक इतिहासमा यो बिदाइ एक विशेष र प्रेरणादायी अध्यायका रूपमा रहिरहने उनीहरूको भनाइ छ।

शिक्षक उपरकोटीले पनि आफूलाई गरिएको सम्मानले आफूलाइृ निकै भावुक बनाएको बताए । विद्यार्थी र गाउँको अप्रत्याशित सम्मान पाएर भावुक  बनेका उपरकोटीले आफूले कर्तव्य मात्र पूरा गरेको बताए । उनले विद्यार्थी र गाउँ समुदायप्रति आभार व्यक्त गरे। उनले भने, ‘आज मैले नसोचेकोसम्मान पाएँ। गाउँलेहरू मसँग यति खुसी र सन्तुष्ट रहेछन् भन्ने आज थाहा पाएँ ।’

 

प्रतिक्रिया

सम्बन्धित खबर