- जगत वाशिष्ठ
काठमाडौं । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको वार्षिक योजनाअनुसार शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंको आयोजनामा बिहीबार विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। प्रदर्शनीमा काठमाडौं जिल्लाका सबै ११ स्थानीय तहबाट उत्कृष्ट विद्यालयहरू सहभागी भएका थिए।
प्रतियोगितामा कागेश्वरी मनोहरा नगरपालिकाले पहिलो स्थान प्राप्त गरेको छ। त्यस्तै, तारकेश्वर नगरपालिकाले दोस्रो र दक्षिणकाली नगरपालिकाले तेस्रो स्थान हासिल गरेका छन्। प्रथम भएकाले ६ हजार, द्वितीय भएकाले ५ हजार र तृतीय स्थान प्राप्तकर्ताले ४ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे। साथै कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख डा। समन्तमणि आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख तथा जिल्ला शिक्षा समिति काठमाडौंका अध्यक्ष सन्तोष बुढाथोकी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। यससँगै शिक्षा विकास निर्देशनालयका प्रतिनिधि गोपाल प्रसाद दाहाल र अर्जुन कुमार पौडेललगायत व्यक्तिहरूको पनि सहभागिता रहेको थियो।


