सिराहा । सिराहाको कर्जन्हा नगरपालिका–११ स्थित जनसेवा माध्यमिक प्राविधिक विद्यालयमा शिक्षक अभावका कारण पठनपाठन ठप्प भएको विरोधमा विद्यार्थीहरूले नगरप्रमुखको कार्यकक्षमा लगाएको ताला शिक्षक नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने लिखित सहमतिपछि खुलेको छ।
प्राविधिक धारका विद्यार्थीहरूले मंगलबार बिहान कार्यालय खुल्नुअघि नै नगरप्रमुखको कार्यकक्षमा ताला लगाएका थिए। नगरप्रमुख, उपप्रमुख, सम्बन्धित वडाध्यक्षहरू र विद्यार्थी प्रतिनिधिहरूबीच भएको छलफलपछि आगामी आठ दिनभित्र शिक्षक नियुक्त गरी पठनपाठन सुचारु गर्ने सहमति भएपछि ताला खोलिएको हो।
सहमतिपत्रमा तोकिएको समयभित्र शिक्षक नियुक्ति नभए सम्बन्धित पदाधिकारीले राजीनामा दिने उल्लेख गरिएको छ। तर, कसले राजीनामा दिने भन्ने विषय भने स्पष्ट गरिएको छैन।
नगरप्रमुख भोलाप्रसाद पोखरेलले प्राविधिक तथा साधारण धारका पाँच जना शिक्षकको नियुक्ति विभिन्न कारणले लामो समयदेखि रोकिँदै आएको स्वीकार गरे। “यो समस्या मेरो कार्यकालअगावैदेखि सुरु भएको हो,” उनले भने, “विद्यालय व्यवस्थापन समिति नहुँदा प्रक्रिया अघि बढ्न सकेन। धेरै प्रयासपछि समिति गठन गरी नियुक्तिको तयारी गरिएको हो।”
उनका अनुसार शिक्षक छनोटका लागि हुने लिखित परीक्षाको केन्द्र निर्धारणमा असहमति हुँदा परीक्षा पटक–पटक स्थगित हुँदै आएको थियो। पछिल्लोपटक सोमबारका लागि तोकिएको परीक्षा शिक्षा शाखाका कर्मचारी दुर्घटनामा परेपछि रोकिएको नगरप्रमुखले जानकारी दिए। “प्राविधिक कारणलाई अनावश्यक रूपमा राजनीतीकरण गरिएको छ,” उनले भने, “नगरपालिका शिक्षक छनोट गरेर पठनपाठन व्यवस्थित गर्न प्रतिबद्ध छ।”
शिक्षक अभावले विद्यालय सञ्चालनमै समस्या
विद्यालयका प्रधानाध्यापक लक्ष्मी हायुले पछिल्लो चार वर्षदेखि शिक्षक अभावका कारण प्राविधिक धारको नियमित कक्षा सञ्चालन गर्न कठिनाइ भइरहेको बताए। २०७९ सालको स्थानीय तह निर्वाचनपछि शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाइए पनि विद्यालय व्यवस्थापन समितिको म्याद सकिन लागेकाले नयाँ समिति गठनपछि गर्ने प्रस्ताव आएपछि प्रक्रिया रोकिएको उनले बताए।
कैयौँ प्रयासपछि गत वैशाखमा समिति गठन भएसँगै नगरपालिकाले असार महिनामा पाँच जना शिक्षकका लागि विज्ञापन आह्वान गरेको थियो। जसअनुसार प्राविधिक धारतर्फ माध्यमिक तह द्वितीय श्रेणीमा भौतिकशास्त्र, रसायनशास्त्र र इन्जिनियर तथा तृतीय श्रेणीमा इन्जिनियर, साथै साधारण धारतर्फ तृतीय श्रेणीमा लेखा विषयका शिक्षक माग गरिएको थियो।
“विज्ञापनपछि पनि लिखित परीक्षाको मिति पटक–पटक तोकिएर विभिन्न कारणले स्थगित हुँदै आएको हो,” प्रधानाध्यापक हायुले बताए।


