EduPress
'

डोटी बहुमुखी क्याम्पसका शैक्षिक तथा प्रशासनिक भवन उद्घाटन

Author Image
मङ्गलवार, मंसिर ३०, २०८२
Text Size:

डोटी । डोटी बहुमुखी क्याम्पसमा नव–निर्मित अत्याधुनिक शैक्षिक तथा प्रशासनिक भवनहरूको उद्घाटन सम्पन्न भएको छ। सोमबार आयोजित विशेष कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। दीपक अर्यालले शैक्षिक भवन र रजिष्ट्रार प्रा।डा। केदारप्रसाद रिजालले प्रशासनिक भवनको उद्घाटन गरेका हुन्।

२०७९ भदौ ३१ गते शिलान्यास गरिएको २४ कोठे चारतले शैक्षिक भवन तथा २०८० जेठ २१ गते शिलान्यास गरिएको ९ कोठे तीन तले प्रशासनिक भवन सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको हो। सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले उक्त भवनहरू त्रिविका उपकुलपति प्रा.डा. अर्याललाई हस्तान्तरण गरेपछि उपकुलपतिले क्याम्पस प्रमुख दिलानन्द जोशीलाई औपचारिक रूपमा जिम्मा लगाएका थिए। शैक्षिक भवन रु. ५ करोड ७१ लाख र प्रशासनिक भवन रु. ३ करोड ७ लाख लागतमा सम्पन्न भएका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै उपकुलपति प्रा।डा। दीपक अर्यालले नवनिर्मित भवनहरूले क्याम्पसको शैक्षिक वातावरण सुदृढ गर्दै शिक्षा क्षेत्रको समग्र सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा जनशक्ति अभाव रहेको उल्लेख गर्दै आगामी दिनमा त्यसको परिपूर्ति गर्ने प्रयास भइरहेको जानकारी दिए।

यसैगरी, रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले स्रोत र साधनको सीमाभित्र रहेर क्याम्पसलाई निरन्तर सहयोग गरिने प्रतिबद्धता जनाए। क्याम्पस स्थापना कालदेखि अहिलेसम्म योगदान पुर्‍याउने सबैलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले क्याम्पसको दीर्घकालीन विकासका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको सहयोग अपरिहार्य रहेको बताए।

भवनहरूको निर्माण कार्य पीएस कन्स्ट्रक्सन, सिलगढीले सम्पन्न गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खबर