EduPress
'

एक शिक्षकको विदाइले लिवाङ सहर नै भावुक

Author Image
बुधवार, पौष १, २०८२
Text Size:

रोल्पा । कहिलेकाहीँ विद्यालय परीक्षा, नतिजा वा भर्ना अभियानका कारण होइन, एउटा शिक्षकको विदाइले पनि सिङ्गो सहरलाई कक्षाकोठा बनाइदिन्छ । बुधबार बिहान लिवाङमा देखिएको दृश्य त्यही थियो- जहाँ पाठ्यपुस्तकभन्दा भारी बनेको थियो कृतज्ञता, र घण्टीको आवाजभन्दा चर्को थियो सम्मानको भाव ।

रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण नमूना माध्यमिक विद्यालयमा तीन दशक निरन्तर अध्यापन गरेका शिक्षक मधुसुदन पोख्रेलको बिदाइ समारोहले विद्यालय परिसर मात्रै होइन, सिङ्गो बजारलाई भावुक बनायो । बिहानैदेखि विद्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकको बाक्लो उपस्थिति देखिन्थ्यो । दुई हजारभन्दा बढी विद्यार्थी र अभिभावकको जमघट, एकनास पोसाकमा सजिएका आमा समूह र बाजागाजाले वातावरणलाई एकाएक उत्सवमय बनाइदियो ।

१७ वर्ष प्रधानाध्यापकको भूमिकामा रहेर विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधारमा योगदान दिएका पोख्रेलको सम्मानमा अबिर जात्रा निकालियो । शिक्षकप्रति मायाले लगाइएका नाराहरू, विभिन्न कोशेली र मायाको चिनोले ढाकिएका पोख्रेल र्‍यालीका क्रममा भावुक र गम्भीर देखिन्थे । विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयको सहभागितामा निकालिएको र्‍यालीले बजार परिक्रमा गर्दा चोक–चोकमा अबिर र माला लगाएर बिदाइ गरियो । ‘मास्टर होस् त यस्तै होस्’ भन्ने चर्चा बजारभरि गुञ्जिरहेको थियो ।

र्‍यालीपछि विद्यालय प्राङ्गणमा आयोजित बिदाइ कार्यक्रममा वक्ताहरूले पोख्रेलको योगदानलाई रोल्पाको शैक्षिक इतिहाससँग जोडेर स्मरण गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर डाँगीले लामो समयसम्म विद्यालयको नेतृत्व गर्दै आएका पूर्वप्रधानाध्यापक पोख्रेलको योगदान भुल्न नसकिने बताए ।

बिदाइ मन्तव्यका क्रममा भावुक बनेका पोख्रेलले सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउने अभियान सजिलो नभएको अनुभव सुनाए । शैक्षिक सुधारसँगै आर्थिक व्यवस्थापनमा पनि आफूले सकेको प्रयास गरेको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा विद्यालयमा प्राविधिक शिक्षा सुरु हुनु गौरवको विषय भएको बताए । विद्यालय परिवारले उनलाई सम्मानस्वरूप सुनको औंठी उपहार दिएको थियो ।

पोख्रेलसँगै १५ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका पत्रकार तथा अधिवक्ता महेश न्यौपानेले भने, “मधुसुदन सरले व्यक्तिगत स्वार्थ र सपना त्यागेर दिनरात विद्यालय सुधारमा आफूलाई समर्पित गर्नुभयो । उहाँको योगदान शब्दमा समेट्न गाह्रो छ ।”

एमएस्सी गणित तथा विज्ञानमा एक वर्षे बिएड अध्ययन गरेका पोख्रेल २०६० असोज २५ गते यही विद्यालयबाट स्थायी शिक्षक बनेका थिए । यसअघि २०५२ फागुन १६ देखि अस्थायी शिक्षकका रूपमा उनले यही विद्यालयमा अध्यापन गरेका थिए । शिक्षक र प्रधानाध्यापकका रूपमा रहँदा उनले विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका छन् । रोल्पा सुनिलस्मृति गाउँपालिका–१, घोडागाउँका स्थायी बासिन्दा पोख्रेल श्रीमती, एक छोरा र एक छोरीका पिता हुन् ।

‘शिक्षकका छोराछोरी बोर्डिङ पढ्छन्, अरूलाई सरकारीमा पढ्न भन्छन्’ भन्ने गुनासोलाई उनले आफ्नै व्यवहारले चिर्दै आएका थिए । सात कक्षासम्म बोर्डिङमा पढेकी छोरीलाई उनले आफैं पढाउने विद्यालयमा भर्ना गराए भने छोराले नर्सरीदेखि कक्षा १० सम्म यही विद्यालयमा अध्ययन गरे । शायद यही व्यवहार र विश्वासका कारण उनका विद्यार्थी र अभिभावकले आज उनलाई पाठ्यक्रमभन्दा ठूलो पाठ समर्पण र इमानदारीको स्मरण गर्दै विदाइ गरे ।

प्रतिक्रिया

सम्बन्धित खबर