- जगत वाशिष्ठ
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कूल अफ एजुकेशनअन्तर्गत समावेशी शिक्षामा स्नातकोत्तर (एम.एड.) तहको तेस्रो र चौथो सेमेस्टरका पाठ्यक्रम प्रबोधिकरणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ । ललितपुरमा पौष ४ र ५ गते आयोजित कार्यशालामा पाठ्यक्रमको संरचना, उद्देश्य, विषयवस्तु, मूल्यांकन प्रक्रिया तथा शिक्षण–अध्ययन विधिबारे गहन छलफल गरिएको थियो ।
कार्यशालाको पहिलो दिन ग्र्याजुएट स्कुल अफ एजुकेशनका डिन प्रा.डा. यमबहादुर कार्कीको अध्यक्षतामा उद्घाटन सत्र भएको थियो । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. शोभाखर कँडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए । उद्घाटन सत्रमा विषय समिति अध्यक्ष डा. प्रेमकुमारी ढकालले स्वागत मन्तव्य व्यक्त गरिन् भने योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले कार्यक्रमको उद्देश्य र कार्यसूचीबारे जानकारी गराएका थिए । सो अवसरमा प्रा.डा. बासुदेव काफ्लेले नोरेड–II (NORHED II) परियोजनाको परिचय प्रस्तुत गरेका थिए ।
कार्यशालाको उद्देश्य समावेशी शिक्षामा स्नातकोत्तर तहका विस्तृत पाठ्यक्रमहरूलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने रहेको थियो । यसका लागि विषय विज्ञ, समीक्षक तथा सरोकारवालाबीच औपचारिक प्रस्तुति, समीक्षा र सुझाव संकलन गरिएको थियो ।
प्रमुख अतिथि प्रा.डा. शोभाखर कँडेलले अनुसन्धानमुखी उच्च शिक्षाको सुदृढीकरणका लागि यस्ता पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गरे । उनले समावेशी शिक्षाको प्रवर्द्धनका लागि व्यवहारिक र अनुसन्धानमा आधारित पाठ्यक्रम विकास अपरिहार्य रहेको बताउँदै यस प्रकारका कार्यशालाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने धारणा राखे ।
कार्यशालाको पहिलो दिनको दोस्रो सत्रमा तेस्रो सेमेस्टरका छ वटा विषयहरू सम्बन्धित विषय विज्ञहरूले प्रस्तुत गरे भने दोस्रो दिनको पहिलो सत्रमा चौथो सेमेस्टरका विषयहरू प्रस्तुत गरिएका थिए । प्रत्येक प्रस्तुतिपछि विज्ञ समीक्षकहरूद्वारा समीक्षा तथा अन्तरक्रियात्मक छलफल सम्पन्न गरिएको थियो ।
कार्यशालामा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयका विज्ञ प्राध्यापक तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष तथा डिन प्रा.डा. यमबहादुर कार्कीले शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान सुदृढीकरण र पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनप्रति ग्र्याजुएट स्कुल अफ एजुकेेशन पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । कार्यशालाको सञ्चालन तथा सहजीकरण उपप्राध्यापक भीमबहादुर रोकायाले गरेका थिए ।


