- जगत वाशिष्ठ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ५१औँ दीक्षान्त समारोह भव्य रूपमा आयोजना गर्दैछ । यसपटकको दीक्षान्त विश्वविद्यालयका लागि ऐतिहासिक बन्ने भएको छ, किनकि त्रिविको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार समारोहका प्रमुख अतिथि सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी वैज्ञानिक तथा टोकियो विश्वविद्यालयका प्राध्यापक ताकाआकी काजिता रहनुहुनेछ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वैज्ञानिकको उपस्थितिले दीक्षान्त समारोहको गरिमा थप उचाइमा पुग्ने विश्वास विश्वविद्यालयले गरेको छ ।
उपकुलपति अर्यालले दीक्षान्तका सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो । समारोहस्थलमा मण्डप निर्माणदेखि दीक्षित विद्यार्थी र अभिभावकका लागि आवश्यक बसोबास तथा आसन व्यवस्थापनसम्मका काम सम्पन्न भइसकेका छन् ।
यस वर्ष १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुनेछन् भने विद्यार्थी र अभिभावकसहित करिब ४१ हजारको सहभागिता रहने अनुमान गरिएको छ । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहमा गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागी हुन निवेदन दिएका छन् ।
समारोहमा विभिन्न सङ्काय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रलाई पदक प्रदान गरिनेछ । तथ्याङ्कअनुसार यसपटक मानविकी सङ्कायबाट १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनबाट दुई हजार ३३५ तथा शिक्षातर्फ १६ हजार ४६७ विद्यार्थी उत्तीर्ण भएका छन् ।


