EduPress
'

अन्तर्राष्ट्रिय प्राध्यापकहरूसँग अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न

Author Image
मङ्गलवार, पौष २८, २०८२
Text Size:
  • जगत वाशिष्ठ

ललितपुर । काठमाडौं विश्वविद्यालय (केयू) ले विश्वविद्यालयमा कार्यरत विभिन्न देशका अन्तर्राष्ट्रिय प्राध्यापकहरूसँग अनुभव आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। ललितपुरस्थित काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (KUSOM) मा सम्पन्न कार्यक्रममा नेपालमा अध्यापन गर्दा भोगिएका अनुभव, शैक्षिक चुनौती र सम्भावनाबारे गहन छलफल गरिएको थियो।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्ले, रजिस्ट्रार प्रा. डा. राजीव श्रेष्ठ, विभिन्न संकायका डिनहरू तथा एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्राध्यापकहरूको उपस्थिति रहेको थियो। सहभागी प्राध्यापकहरूले नेपालको शैक्षिक वातावरण, विद्यार्थीहरूको सिकाइ संस्कार, कक्षा–कोठाको व्यवहार र अन्तरसांस्कृतिक अनुभवबारे आफ्ना धारणा र सुझाव साझा गरेका थिए।

अन्तरक्रियाका क्रममा बौद्ध अध्ययन कार्यक्रमका प्रमुख थोमस डक्टरले नेपालमा बौद्ध दर्शन तथा अध्ययनप्रति विश्वव्यापी चासो उल्लेख्य रूपमा बढ्दै गएको बताउँदै यस क्षेत्रले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यका लागि नयाँ अवसरहरू सिर्जना गरिरहेको धारणा राखे।

कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा. अच्युत वाग्लेले काठमाडौं विश्वविद्यालयले अन्तर्राष्ट्रियकरणलाई आफ्नो दीर्घकालीन शैक्षिक रणनीतिको प्रमुख आधार बनाएको स्पष्ट पारे। “अन्तर्राष्ट्रिय प्राध्यापकहरूको अनुभव र अभ्यासले हाम्रो अध्ययन–अध्यापन प्रणालीलाई अझ समृद्ध बनाउँछ,” उहाँले भन्नुभयो, “केयू आगामी दिनमा थप विदेशी विज्ञहरूलाई आकर्षित र प्रोत्साहित गर्न प्रतिबद्ध छ।”

विश्वविद्यालयका अनुसार हाल काठमाडौं विश्वविद्यालयमा २४ जना अन्तर्राष्ट्रिय प्राध्यापक कार्यरत छन् भने हालै गरिएको आह्वानमा करिब ४०० जना विदेशी प्राध्यापकबाट आवेदन प्राप्त भएका छन्। तीमध्ये आवश्यकता अनुसार विभिन्न ‘स्कूल’ हरूले नियुक्ति प्रक्रिया अघि बढाइसकेको जानकारी विश्वविद्यालयले दिएको छ। साथै, केयूले विश्वभरका ३०० भन्दा बढी शैक्षिक संस्थासँग सहकार्य गर्दै आएको छ भने कुल स्नातक विद्यार्थीमध्ये करिब १२ प्रतिशत विदेशी विद्यार्थी रहेका छन्।

गुणस्तरीय उच्च शिक्षा, अन्तर्राष्ट्रिय सहकार्य र बहुसांस्कृतिक शैक्षिक वातावरण निर्माणलाई केन्द्रमा राख्दै काठमाडौं विश्वविद्यालयले आफूलाई विश्वस्तरीय विश्वविद्यालयका रूपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर