जगत वाशिष्ठ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयले विद्यार्थी, क्याम्पस तथा कलेजहरूलाई लक्षित गर्दै आधिकारिक युट्युब च्यानल सञ्चालनमा ल्याएको छ। परीक्षा, नतिजा, सूचना तथा शैक्षिक गतिविधिसम्बन्धी जानकारी सरल र छिटो उपलब्ध गराउने उद्देश्यले युट्युब च्यानल सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा जारी अत्यन्त जरुरी सूचनाअनुसार उक्त युट्युब च्यानलमार्फत परीक्षा सम्बन्धी अद्यावधिक सूचना, नतिजा प्रकाशन, फाराम, प्रक्रिया तथा अन्य महत्त्वपूर्ण जानकारी सार्वजनिक गरिनेछ।
कार्यालयका अनुसार यो युट्युब च्यानल त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयको आधिकारिक वेबसाइट (exam.tu.edu.np) बाट पनि सहज रूपमा पहुँच गर्न सकिने व्यवस्था गरिएको छ।
युट्युब च्यानलको नाम “TU Office of the Controller of Examinations” रहेको छ भने च्यानल लिंक www.youtube.com/@OCOE-AK रहेको छ।
परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलद्वारा हस्ताक्षरित सूचनामा सबै विद्यार्थी, क्याम्पस र सरोकारवाला पक्षलाई आधिकारिक जानकारीका लागि सोही च्यानल तथा वेबसाइटलाई आधार बनाउन आग्रह गरिएको छ।


