काभ्रे । काभ्रे जिल्लाका ९१ वटा विद्यालयमा ५२ करोड रुपैयाँभन्दा बढी बेरूजु रहेको विवरण सार्वजनिक भएको छ। जिल्ला शिक्षा समन्वय इकाईको अभिलेखअनुसार २०६० सालपछि सञ्चालित विभिन्न कार्यक्रम र निर्माण योजनाबाट उक्त रकम बेरूजुका रूपमा देखिएको हो।
विद्यालय भवन निर्माणका लागि खटिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले काम सुरु गरे पनि बजेट अभावका कारण कतिपय भवन अधुरै अवस्थामा छन्। यसैबीच सम्बन्धित जिल्ला कार्यालय नै खारेज भएपछि करोडौं रकम बेरूजुका रूपमा बाँकी रहेको पाइएको छ। बेरूजु फर्छ्योट गर्न पटक–पटक ताकेता भए पनि धेरै विद्यालयले त्यसलाई प्राथमिकतामा नराखेको जनाइएको छ।
माध्यमहरूमा समाचार आएपछि शिक्षा समन्वय इकाईले विद्यालय र स्थानीय तहलाई परिपत्र जारी गर्दै वास्तविक अवस्था संकलन सुरु गरेको छ। इकाईका अनुसार जिल्लाभरका सरकारी विद्यालयमा २०६० सालयताका बेरूजुको कुल रकम ५२ करोड नाघेको छ।
२०७२ सालको भूकम्पपछि २०७८ सालसम्म विद्यालयको भौतिक पूर्वाधार निर्माणमा नेपाल सरकार र विभिन्न दातृ निकायबाट ७ अर्ब ६६ करोडभन्दा बढी खर्च भएको तथ्यांक छ। सोही अवधिमा निर्माणसम्बन्धी बेरूजु उच्च देखिएको इकाईले जनाएको छ। उपलब्ध विवरणअनुसार निर्माणतर्फ ४८ करोड ७ लाख र अन्य शीर्षकमा ३ करोड १४ लाख गरी करिब ५१ करोड २५ लाखभन्दा बढी रकम बेरूजु रहेको छ।
जिल्लाका १३ वटै स्थानीय तहका विद्यालयमा बेरूजु देखिएको छ। हाल दर्ता भएका पाँच विद्यालयको बेरूजु भवन निर्माण तथा मर्मतसँग जोडिएको छ। महाभारत गाउँपालिका–१ स्थित गोकुले माध्यमिक विद्यालयमा २०७८ सालमै भवन निर्माण सम्झौता भए पनि निर्धारित समयमा काम सम्पन्न हुन सकेको छैन।
त्यसैगरी, वडा नम्बर ८ को जनकल्याण माध्यमिक विद्यालय, घर्तिछापमा प्रदेश सरकारको लगानीमा सुरु भएको भवन निर्माण अधुरै रहँदा पठनपाठन प्रभावित भएको प्रधानाध्यापक हेम आलेले बताउनुभयो। महाभारत गाउँपालिकाभित्र मात्र २०६० सालपछिको बेरूजु ३ करोड ९८ लाख पुगेको तथ्यांक छ।
भूकम्पपछि सुरु गरिएका तीन विद्यालयका भवन निर्माण कार्य अलपत्र परेपछि बेरूजु बढेको देखिन्छ। यद्यपि, समन्वय समितिको निरन्तर दबाबपछि केही निर्माण व्यवसायी पुनः काममा फर्किएका छन्।


