काठमाडौं । विद्यालय तहमा सञ्चालन हुँदै आएका ब्रिज कोर्ससम्बन्धी सरकारको निर्णय व्यापक आलोचनापछि संशोधन गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत आइतबार सार्वजनिक गरेको सूचना हटाउँदै निर्णयबारे नयाँ स्पष्टिकरण दिएको हो।
मन्त्रालयले सुरुमा विद्यालय तथा उच्च शिक्षामा भर्नाका लागि सञ्चालन हुने प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको थियो। तर उक्त निर्णयप्रति निजी क्षेत्र तथा सरोकारवालाबाट तीव्र विरोध भएपछि मन्त्रालय पछि हटेको देखिएको छ।
शिक्षामन्त्री सस्मित पोखरेल ले अब सबै प्रकारका ब्रिज कोर्स बन्द नगरी, एसइई परीक्षा सकेर कक्षा ११ मा प्रवेश गर्ने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुने ब्रिज कोर्स र ट्युसन कक्षामा मात्र रोक लगाउने स्पष्ट पारेका छन्। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो कोर्सले विद्यार्थीलाई अनावश्यक प्रतिस्पर्धा र दबाबमा पार्ने भएकाले तत्काल रोक्नुपर्ने आवश्यकता देखिएको बताए।
मन्त्री पाेखरेलका अनुसार एसइईपछि सञ्चालन हुने ब्रिज कोर्सहरूले विद्यार्थी तानातान गर्ने प्रवृत्ति बढाएको र त्यसले अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरेको छ। साथै, एसइईको नतिजा सार्वजनिक हुने समय छोट्याइएकाले पनि यस्तो अवस्थामा अतिरिक्त तयारी कक्षाको औचित्य कम भएको उनको भनाइ छ।
यसअघि मन्त्रालयले जारी गरेको सूचनामा भने सबै तहका प्रवेश तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने उल्लेख थियो। तर विरोध चुलिएपछि उक्त सूचना सोमबार बिहान मन्त्रालयको वेबसाइटबाट हटाइएको थियाे ।
सरकारको यो निर्णयलाई धेरैले अपरिपक्व कदमका रूपमा टिप्पणी गरेका छन्। सरोकारवालासँग पर्याप्त छलफल नगरी हतारमा निर्णय गर्ने र पछि संशोधन गर्ने प्रवृत्तिले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको भन्दै आलोचना पनि भइरहेको छ।


