काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी तीव्र बनाएको छ । बोर्डका अनुसार हाल प्राप्ताङ्क प्रमाणीकरण, तथ्याङ्क विश्लेषण तथा प्राविधिक परीक्षणको अन्तिम काम भइरहेको छ । कुनै प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक गरिने तयारी रहेको बोर्ड स्रोतले जनाएको छ ।
यस वर्षको SEE परीक्षा २०८२ चैत ७ गतेदेखि सुरु भई चैत १९ गतेसम्म सञ्चालन भएको थियो । देशभरबाट नियमित तथा आंशिकतर्फ गरी करिब पाँच लाखभन्दा बढी परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको बोर्डले जनाएको छ ।
सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । सोहीअनुसार उत्तरपुस्तिका परीक्षण कार्य समेत परीक्षा केन्द्रमै गर्ने व्यवस्था मिलाइएको थियो । यसले नतिजा प्रकाशनको प्रक्रियालाई तीव्र बनाउन सहयोग पुगेको बताइएको छ ।
बोर्डका अनुसार सबै जिल्लाबाट प्राप्त विवरणको अन्तिम रुजु तथा प्रणाली परीक्षण सम्पन्न हुने चरणमा रहेको छ । नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइट, एसएमएस तथा विभिन्न अनलाइन प्लेटफर्ममार्फत आफ्नो नतिजा हेर्न सक्नेछन् ।
नतिजा प्रकाशनको औपचारिक समयबारे भने बोर्डले केहीबेरमै सूचना जारी गर्ने अपेक्षा गरिएको छ ।


