EduPress
'

‘ब्रिज कोर्स’ पूर्ण रूपमा बन्द गर्ने सरकारको निर्णय

Author Image
आइतवार, चैत १४, २०८२
Text Size:

जगत वाशिष्ठ

काठमाडौं । विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रियासँग जोडिएर सञ्चालन हुँदै आएका ‘इन्ट्रान्स प्रिपरेशन’ कक्षा तथा ब्रिज कोर्स कार्यक्रमहरू पूर्ण रूपमा बन्द गरिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यस्तो निर्णय आगामी वैशाख १ गतेदेखि लागू हुने गरी गरिएको हो।

मन्त्रालयका अनुसार पछिल्लो समय विभिन्न शैक्षिक संस्थाहरूले भर्ना प्रक्रियाभन्दा अगाडि लक्षित गरी प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्दै आएका थिए। यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै शिक्षा प्रणालीमा असमान पहुँच सिर्जना गर्ने र अभिभावकहरूलाई अनावश्यक आर्थिक बोझ पर्ने देखिएको भन्दै सरकार यस्तो निर्णयमा पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अबदेखि विद्यालय तहका विभिन्न कक्षा तथा उच्च शिक्षाका तहहरूमा भर्ना लक्षित गरी सञ्चालन हुने प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सका नाममा गरिने सम्पूर्ण कार्यक्रमहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ। सम्बन्धित निकायलाई उक्त निर्णय कार्यान्वयन गर्न स्पष्ट निर्देशन दिइएको छ।

त्यस्तै, निर्णयविपरीत यस्ता कार्यक्रम सञ्चालन भएको पाइएमा प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले चेतावनी दिएको छ। साथै, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई समेत अनुगमन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको छ।

सरकारको यो कदमले शिक्षा क्षेत्रमा समानता कायम गर्न र अनावश्यक व्यावसायीकरणलाई नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर