EduPress
'

लुम्बिनी प्राविधिक विश्वविद्यालय भाडाको घरमा, वार्षिक खर्च ४८ लाख

Author Image
बिहिवार, असोज ३०, २०८२
Text Size:

नेपालगन्ज । बाँकेको खजुरामा स्थापना गरिएको लुम्बिनी प्राविधिक विश्वविद्यालय अहिले पनि भाडाको भवनमै शैक्षिक कार्यक्रम सञ्चालन गर्न बाध्य छ । स्थायी भवन अभावका कारण विश्वविद्यालयले वार्षिक करिब ४८ लाख रुपैयाँ भाडा तिर्नुपरेको छ ।

प्रदेश सरकारले २०७९ पुस २२ गते बाँकेको खजुरामा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेपछि नेपालगन्जस्थित कृषि विकास बैंकको क्षेत्रीय कार्यालयको भवन पाँच वर्षका लागि भाडामा लिइएको हो । हाल विश्वविद्यालयले तीन वटा भवनको लागि मासिक ३ लाख ५० हजार रुपैयाँ तिर्दै आएको रजिष्ट्रार रेग भण्डारीले बताए ।

सङ्घीयतापछि बाँकेका धेरै सरकारी कार्यालय अन्य प्रदेशमा सरेका कारण थुप्रै भवन खाली छन् । तर, ती भवनको प्रयोग गर्न सकिनेबारे सरकारको ध्यान नपुगेको नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठ बताउँछन् । उनका अनुसार, “खाली सरकारी संरचनाको उपयोग गर्नु वा दीर्घकालीन भवन निर्माणमा लगानी गर्नु राज्यको प्राथमिकता हुनुपर्छ।”

विश्वविद्यालयलाई बाँकेको खजुरा गाउँपालिकामा ५० बिगा जग्गा दिने निर्णय भए पनि सिनेट र मन्त्रिपरिषद्को निर्णय ढिलाइ हुँदा जग्गा हस्तान्तरण हुन सकेको छैन । त्यसकै कारण विश्वविद्यालय अझै पनि भाडाकै घरमा निर्भर रहनुपरेको हो ।

हाल विश्वविद्यालयमा ३४० विद्यार्थी अध्ययनरत छन् । वार्षिक भाडा खर्चलाई ध्यानमा राख्दा पाँच वर्षमा करिब २ करोड ४० लाख रुपैयाँ खर्च हुने देखिन्छ । यो रकम स्थायी भवन निर्माणमा प्रयोग भएको भए दीर्घकालीन रूपमा विश्वविद्यालय आत्मनिर्भर बन्न सक्थ्यो ।

Views: 33

प्रतिक्रिया

सम्बन्धित खबर